जनमतको ५५औं रक्तदान श्रृङ्खलामा ४६ जनाद्वारा रक्तदान

नेपालगन्ज : जनमत अद्र्धसाप्ताहिकको त्रैमासिक रक्तदानको ५५औं श्रृङ्खलामा ४६ जनाले रक्तदान गरेका छन् ।
रगतको अभाव भइरहेको बेला शुक्रबार नेपालगन्जमा जनमत पत्रिकाले ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. (टिभिएस मोटर साइकल शोरुम)सँगको सहकार्यमा आयोजना गरेको रक्तदानमा पत्रकार, व्यवसायी, शिक्षक विभिन्न पेशा वा व्यावसायमा आबद्ध ४५ पुरुष र एक जना महिला स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका हुन् ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरे, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दीला शाह, टिभिएसका क्षेत्रीय बजार प्रबन्धक प्रकाश श्रेष्ठ, मेरो खुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, नियमित स्वयम्सेवी रक्तदाताहरु नीरजमान श्रेष्ठ, मन बहादुर केसी, धर्मेन्द्र कुमार सिंह, शेरबहादुर बोहरा, मनमोहन वर्मा, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेल, दीपक गुप्ता, असफाक संघर्ष, रुस्तम अली दर्जीले रक्तदान गरेका थिए ।
यसैगरी अमित अग्रवाल, राकेशकुमार वर्मा, लक्ष्मणप्रसाद हरिजन, सागर भट्ट, भगवान शरण यादव, रमेशकुमार वर्मा, दीपक हरिजन, योगराज चौधरी, विनोदकुमार वर्मा, जवाहरलाल वर्मा, संजय बढईले रक्तदान गरेका थिए ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का निर्देशकद्वय रणबहादुर शाही र महादेव सिंह ठकुरी, जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी रक्तदानको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, सुनिल थापा मगर, सुनिता कुमाई, बैकुण्ठ रेग्मी, वीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए ।
४१ वर्षदेखि नेपालगन्जबाट प्रकाशित भइरहेको पत्रिका जनमतले आफ्नो रजत महोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरि रगतको अभावमा छट्पटाईरहेका गरीब, असहाय र दूरदराजबाट आउने बिरामीहरुलाई लक्षित गरेर रक्तदान महादानको पवित्र उद्देश्यले रक्तदान गर्दै आएको छ । विगत १७ वर्षदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म चार हजार जना रक्तदाताहरुले रक्तदान गरिसकेको जनमत सम्पादक पूर्णलाल चुकेले जानकारी दिए ।