मन्त्री नमूूनाद्वारा बर्फानी बाबा क्षेत्रको अवलोकन

बैजापुर (बाँके) : लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी नमूनाले शनिबार बाँकेको बर्फानी बाबाको आश्रमको अवलोकन भ्रमण गरेकी छन् ।
राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४ बैजापुर क्षेत्रको मोहडाबाट मन्त्री नमूना, स्थानीय जनप्रतिनिधि, पत्रकार र स्थानीयको टोली मोटरसाइकल चढेर दिउँसो बर्फानी बाबाको आश्रम पुगेको थियो । टोलीले ठाडो उकालो भने पैदल यात्रा गरेको थियो ।

अघिल्लो कार्यकालमा प्रदेशसभा सदस्य हुँदा नमूूनाको पहलमा यो आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले नरैनापुर क्षेत्रबाट आउने बाटो र आश्रम परिसरमा धर्मशाला बनाउन ३८ लाख रुपैयाँको काम गरिरहेको छ । तिनै भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिन र बर्फानी बाबा क्षेत्रमा थप भौतिक पूर्वाधार निर्माण गर्न अवलोकन भ्रमण गरेको मन्त्री नमूनाले बताइन् । सो क्रममा बर्फानी बाबाले तत्कालका लागि आश्रममा खानेपानी, धर्मशाला र शौचालय निर्माण गर्न आवश्यक रहेको भन्दै मन्त्रीलाई ध्यानाकर्षण गरेका थिए । मन्त्री नमूनाले ती कामका लागि पनि तत्कालै पहल गर्ने बताइन् । उनले वेष्टर्न टुरिजम मार्टका भारतीय पाहुनालाई लक्षित गरेर हेलिकोप्टरमा यात्रा गराउन वडा कार्यालयमार्फत हेलिप्याड निर्माण गर्न निर्देशन दिएकी थिइन् । आइतबारदेखि नै हेलिप्याड निर्माणको काम सुरु गरिने राप्तीसोनारी गाउँपालिका ४ का वडाध्यक्ष मीनराज खड्काले बताए ।