मन्त्री नमूनाद्वारा सन्तानेश्वर महादेव मन्दिर क्षेत्रको पनि अवलोकन

सन्तानेश्वर : लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमूनाले आइतबार नरैनापुर गाउँपालिकाको सन्तानेश्वर महादेव मन्दिरको अवलोकन गरेकी छन् ।
प्रदेश सरकारको तर्फबाट सन्तानेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि के कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे सुझाव संकलन गर्न मन्त्री नमूना, नरैनापुर र राप्तीसोनारीका जनप्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारको टोलीसहित बिहान सन्तानेश्वर महादेव मन्दिर परिसरमा पुगेकी थिइन् ।

मन्त्री नमूनालाई ‘सन्तानेश्वर महादेव मन्दिर पुगेर पुजारी महन्त योगानन्द गिरीले मन्दिर जिर्णोद्वार, खानेपानी, शौचालय, आश्रम, सडक, निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए । मन्त्री नमूनाले तत्काल गर्नुपर्ने साना साना काम स्थानीय सरकारले र दीर्घकालीन योजनाका लागि प्रदेश र संघीय सरकारको बजेटबाट काम गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् । राप्तीसोनारी ७ का वडाध्यक्ष रामलखन थारु र नरैनापुर ६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बाँकेको गौरव सन्तानेश्वरको विकासका लागि सहयोग गर्ने आश्वासन दिएका थिए । यसअघि शनिबार मन्त्री नमूनाले राप्तीसोनारी गाउँपालिका ४ मा रहेको बर्फानीब बाबा आश्रम क्षेत्रको अवलोकन गरेकी थिइन् ।