खराब मौसमले मानसरोवर माउन्टेन फ्लाइट प्रभावित

नेपालगन्ज : बाँकेको नेपालगन्जबाट पहिलो पटक गर्न लागिएको चीनको कैलाश मानसरोवरको दूरदर्शन यात्रा प्रभावित भएको छ ।
भारतीय टुर अपरेटर, पत्रकार र नेपाली पर्यटन व्यवसायी, प्रहरी प्रशासन प्रमुखसहितको टोली सोमबार बिहान ८ बजे नेपालगन्जबाट हुम्ला क्षेत्रबाट मानसरोवरको माउन्टेन फ्लाइटका लागि बुद्ध एयरमा उडेको थियो ।

जहाज ४० मिनेटमै पुनः नेपालगन्ज विमानस्थलमा अवतरण गराइएको थियो ।
बुद्ध एयरका पाइलट रवि श्रेष्ठका अनुसार नेपालगन्जबाट उडेको जहाज सुर्खेत र दैलेखको सीमा क्षेत्रबाट फर्किएको हो । २३ हजार फिट माथि जहाज उडे पनि कैलाश मानसरोवरलाई बाक्लो कुहिरोले ढाकेकाले जहाज सुर्खेतभन्दा अगाडि नगएर नेपालगन्ज फर्काएको पाइलट श्रेष्ठले प्रष्ट पारे । पाइलट श्रेष्ठले भने, ‘कैलाश मानसरोवरमा बाक्लो कुहिरो लागेको थियो । जुन उत्तरतिरबाट सिफ्ट भइरहेको देखेपछि हामीले जहाज फर्काएका हौं ।’

पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आइतबादेखि नेपालगन्जमा सुरु भएको वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशनको अवसरमा ९ जना भारतीय पत्रकारसहित ३६ जना भारतीय ट्राभल एजेन्ट्स एशोसियसन अफ इण्डिया (टाइ)सँगै नेपाली टोलीलाई कैलाश मानसरोवरको दूरदर्शनमा लगिए पनि मौसमका कारण यात्रा सफल नभएको मार्ट संयोजक श्रीराम सिग्देलले बताए ।

उनले भने, ‘मानसरोवरको माउन्टेन फ्लाइट हाम्रो मिशन हो । यसलाई सफल बनाएर छोड्नेछौं ।’ मार्टमा आएको ७४ सदस्यीय भारतीय टोली सोमबार बिहान बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारा पुगेको छ । त्यहाँ टोलीले बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेको छ । बर्दियामा नै टाइको बैठक पनि बसेको छ । मंगलबार टाइको टोली भारत फर्कनेछ ।