बाँकेको जानकीमा स्मार्ट बेटी समूह गठन

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा स्मार्ट बेटी समूह गठन गरिएको छ ।
जानकी गाउँपालिकाका किशोरी तथा महिलाको भेलाले वडा नं। ६ अमृतपुर गाउँकी लक्ष्मीकुमारी महतरा संयोजक र सह-संयोजक सोनिया खटिक रहेको १७ सदस्यीय समूह गठन गरिएको हो । समूहको सदस्यमा मुना पुन, पूजा कठायत, अस्मिता हरिजन, ममता पासी, हिराकुमारी हरिजन, सावित्री खटिक, सञ्जु कलवार, सुफिया तेली, पुष्पा लोध, दृष्टि विष्ट, कविता वर्मा, रेखा वर्मा, नन्की हरिजन, किरणकुमारी लोनिया र रिमा हरिजन रहेका छन् ।

किशोरीहरुले २० वर्ष पूरा गरेर मात्र बिहे गर्ने, बालविवाहविरुद्ध गाउँमा सचेतना फैलाउने, कम्तीमा १२ कक्षासम्म शिक्षा आर्जन गर्ने, महिला हिंसा नसहने र लैङ्गिक आधारमा गरिने हिंसाको प्रतिवाद गर्ने, महिनावारीबारे समाजमा सचेतना फैलाउने, घरमा पुनः प्रयोग गर्ने सेनेटरी प्याड बनाउन गाउँगाउँका किशोरीलाई सिकाउने प्रतिबद्धता जनाएका छन् ।
जानकी गाउँपालिकाको वडा नं। ६ को सहयोगमा महिला सहयोगी केन्द्र बाँकेले आयोजना गरेको पाँच दिने छोरी शसक्तिकरण तालिमको समापनको अवसरमा किशोरीहरुले आफूले सिकेका कुराहरु समाजमा फैलाउन स्मार्ट बेटी समूह गठन गरेका हुन् ।

तालिम समापनको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले समाजमा अझै पनि महिलामाथि थिचोमिचो रहने गरेको बताए । कानुनमा महिला र पुरुषको समान अधिकार भए पनि महिलामाथि अझै अन्याय भइरहेको उनको भनाइ थियो । उनले महिलाको उत्थानका लागि महिला नै सक्रिय भएर लाग्न पनि सुझाव दिए ।

जानकी–६ का ३१ जना किशोरी र महिलाको सहभागिता रहेको तालिममा नीरज न्यौपाने र पत्रकार शंकरप्रसाद खनालले सहजीकरण गरेका थिए । महिला सहयोगी केन्द्र बाँकेका अध्यक्ष माया थापा रानाले बस्ती बस्ती स्तरमा पुगेर छोरीका लागि काम गर्ने बताइन् ।