बागेश्वरी मन्दिरमा भोलि साँझ पनि महाआरती, कहाँ-कहाँ हुन्छ यस्तो महाआरती

नेपालगन्ज :  बागेश्वरी मन्दिर नेपालगन्जमा भोलि सोमबार पनि महाआरतीको हुने भएको छ ।
नाट्टा बाँके च्याप्टरले बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा अपरान्ह ५ बजेपछि दोस्रो पटक महाआरती गर्न लागेको हो । यसअघि १५ माघमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशनको अवसरमा भारतीय पर्यटकहरुको सहभागितामा बागेश्वरी मन्दिरमै पहिलो महाआरती भएको थियो । महाआरतीमा नगरवासी स्वस्फूर्त रुपमा सहभागी भएका थिए । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले अब हरेक सोमबार महाआरती हुने बताउँछन् ।

कहाँ-कहाँ हुन्छ महाआरती ? 
महाआरती नेपाल र भारतका धेरै स्थानमा हुने गरेको छ । हिन्दु आराध्यदेव महादेवको काठमाडौंस्थित विश्व प्रसिद्ध पशुपतिनाथको मन्दिरमा बागमति नदीको किनारमा भव्य महाआरती हुुन्छ । पशुपतिनाथको महाआरतीमा सहभागी हुने सबैको मन मस्तिष्कमा आरतीको छाप परेको हुनुपर्छ ।
मधेस प्रदेशको जनकपुरको गंगासागरमा नित्य सन्ध्या आरती हुँदै आएको छ । नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा र पोखरामा पनि फेवाताल किनारमा महाआरती भइरहेको छ । भारतको हरिद्वार र बनारसमा पनि नियमित आरती हुन्छ । पण्डित वा बटुकद्वारा बैद्धिक मन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधि अनुसार महाआरती गरिन्छ । महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्छन् । सन्ध्या आरतीपछि भजन किर्तन पनि हुन्छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।