टुर दी ठाकुरद्वाराको पाँचौैं संस्करणसम्म पाँच गुणा सहभागिता

नेपालगन्ज : टुर दी ठाकुरद्वाराको पाँचौं संस्करणसम्म पुग्दा सहभागी संख्या पाँच गुणाले बढेको छ ।
बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको टुर दी ठाकुरद्वाराको पहिलोदेखि पाँचौं संस्करणसम्ममा पुग्दा सहभागिता उत्साहजनक रुपमा बढेको नेपालगन्ज साइकिलिङ क्लबले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सतिश निरौलाले बताए । उनले पहिलो संस्करणमा ५५, दोस्रोमा १२५, तेस्रोमा २१०, चौथोमा २३४ र पाँचौंमा ३०० जनाभन्दा बढी सहभागी हुने बताए । आगामी माघ २६–२८ सम्म आयोजना हुने नेपालगन्ज साइकल फेस्टिवलमा भारतबाट २९, देशभरबाट १४० सहित ३०० जनाको सहभागिता रहने अध्यक्ष निरौलाले बताए ।
२७ माघमा नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु हुने साइकल यात्रा सुरु भइ त्रिभुवन चोक, वीपी चोक, धम्बोझी चोकहुँदै खजुरा, बर्दियाको बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिकाको सतखुलुवा ताल, बबर्ई नदी, भुरीगाउँ हुँदै ठाकुरद्वारासम्म झन्डै १०० किलोमिटरको यात्रा कार्यक्रम संयोजक प्रदीप सापकोटाले जानकारी दिए ।
बिहीबार बिहान ८ बजे नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १ मा रहेको वाटरपार्कमा किड्स रेश हुँदैछ । जहाँ ३० जनाले सहभागिता जनाउँदैछन् ।