प्रेस सेन्टरबाट पत्रकार धिताल, खान र शाही पुरस्कृत, ६ पत्रकारलाई सम्मान

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेले जिल्लाका तीन जना पत्रकारलाई पुरस्कृत र ६ जना पत्रकारलाई सम्मान गरेको छ ।
प्रेस सेन्टर बाँकेको आइतबार नेपालगन्जमा सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनमा क्रान्तिकारी पत्रकारिता पुरस्कार डक्टप्रसाद धिताललाई प्रदान गरिएको थियो ।

त्यसैगरी यो वर्षको बिरमी चन्द्र ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार आलम खान र प्रिया शाही कल्पनालाई संयुक्त रुपमा प्रदान गरिएको थियो । तीन वटै पुरस्कारको राशी जनही पाँच हजार रुपैैयाँ रहेको छ ।

लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमूना, संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक र प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा जुगलले पत्रकार धिताललाई पुरस्कृत गरेका हुन् । पत्रकारहरू सिराज खान, सुशील लामिछाने, शिव सुनार, प्रदीप वाग्ले, गजेन्द्र गुरुङ र हेमन्त चौधरीलाई भने प्रेस सेन्टरले सम्मान गरेको थियो ।

प्रेस सेन्टर बाँकेको अध्यक्षमा राजेश आचार्य निर्वाचित भएका छन् । सेन्टरको आइतबार नेपालगन्जमा सम्पन्न विशेष अधिवेशनले आचार्यको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो । जिल्ला कार्य समितिको उपाध्यक्षमा संगीन शर्मा र सीता वली, सचिव केपी घिमिरे, सह सचिव तिलक नेपाली र डिल्ली शाही र कोषाध्यक्षमा अनिता विक निर्वाचित भएका छन् ।