लुम्बिनी प्रदेश सरकारद्वारा बाँकेका डा.पाण्डे र डा. किदवाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट विभूषित

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले नेपालगन्जका दुई जना डाक्टरलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदक प्रदान गरेको छ ।

लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसरमा बुधबार दाङमा आयोजित कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा. मोहिउद्दिन किदवाईलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वीतियबाट विभूषित गरिएको छ ।

पाण्डेलाई तराईका थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्बन्धी स्वास्थ्य समस्या पत्ता लगाइ उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै र डा. किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको भनेर विभूषित गरिएको हो । त्यसैगरी पत्रकार डा. कृष्ण सर्वहारीलाई प्रदेश रत्न पदक प्रदान गरिएको थियो ।
२०७४ साल फागुन ३ गते पहिलो पटक प्रदेशमा सरकार गठन भएको थियो । सोही अवसरलाई प्रदेश सरकारले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरेको थियो ।