निर्धन लघु वित्तद्वारा कोहलपुरमा स्वास्थ्य शिविर सञ्चालन

मैटहवा (बाँके) : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेको कोहलपुरमा महिलाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका १५० जना महिलालाई लक्षित गरेर कोहलपुरको झन्डहवामा बिहीबार आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १०७ जना महिलाको स्वास्थ्योपचार गरेको निर्धनका बरिष्ठ व्यवस्थापन अधिकृत जीताराम गौतमले जानकारी दिए ।

अधिकृत गौतमले भने, ‘१० जना महिलामा पाठेघरको समस्या पाइयो । अरु ११ जना महिलाको पाठेघरको समस्याबारे थप स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ । अरु सामान्य बिरामीको जाँच गरेर औषधि दिइएको थियो ।’

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा. श्याम विक, स्त्रीरोग विशेषज्ञ इन्दुनील घोष, डा.राम विष्ट र डा.देवेन्द्र आचार्य, एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्ट गरी १५ सदस्यीय स्वास्थ्यकर्मीले बिरामीको चेक जाँच र स्वास्थ्य परीक्षण गरेका थिए ।

महिलालाई सशक्तिकरण गरेर गरिबी न्यूनिकरण गर्ने उद्देश्यले डा.हरिहरदेव पन्तको अग्रसरतामा २०४७ सालमा काठमाडौंको भगवतिवहाल नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन लघु वित्तको देशभर नै कार्यक्षेत्र छ । देशका ७७ जिल्लामा १८५ वटा शाखा र १० वटा क्षेत्रीय कार्यालय मार्फत २२ हजार ५३९ केन्द्रमार्फत चार लाख दुई हजार ४१४ सक्रिय सदस्यसँग काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले जानकारी दिए ।

उनी भन्छन्, ‘गरिबीको रेखामुनी रहेका लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गरी महिलालाई लगानीसँगै व्यवसायिक सीप सिकाउँदै उत्पादनसँग जोड्ने, उत्पादनलाई आधुनिक प्रविधिमा जोडेर व्यवसायिक बनाउने र उत्पादित बस्तुको बजारीकरण गर्न सके महिला आर्थिक रुपमा सशक्तिकरण हुन्छन् र गरिबी न्यूनिकरण हुन्छ ।’