रेडक्रस बाँकेको सभापतिमा सम्झनासहित अधिकांश पूरानै (मत सूचीसहित)

नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँकेको सभापतिमा तेस्रो कार्यकालका लागि गोबर्धन सिंह सम्झना निर्वाचित भएका छन् ।

बाँकेको डुडुवा गाउँपालिकाको बनकट्टीमा शुक्रबार सम्पन्न ४१औं जिल्ला सभाको अधिवेशनमा सभापतिमा सम्झनाले आफ्ना निकटतम् प्रतिद्वन्द्वी अरुणलाल श्रेष्ठभन्दा ६७ मतको अन्तरले विजयी भएका हुन् । सम्झनाले ८५ मत र श्रेष्ठले १८ मत मात्र ल्याएका थिए ।

रेडक्रस बाँकेमा सम्झनाको नेतृत्वमा १७ सदस्यीय कार्यसमितिमा उप–सभापति सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, तीन जना महिला सदस्य सीता शर्मा पोख्रेल, खागेश्वरी रावत र सरितादेवी ज्ञवाली निर्विरोध भए पनि निर्वाचन हुँदा पनि पूरानै कार्य समितिका व्यक्तिलाई अधिवेशनले चुनेको छ । महिला सदस्य सबै नयाँ अनुहार हुन् ।

सदस्यमा निर्वाचित मीनबहादुर मल्ल पनि नयाँ हुन् । यी ४ जना सदस्यबाहेक पदाधिकारी र सदस्य सबै पूरानै अनुहार आएका छन् (पढ्नुस् सूची) । चार जना सदस्य मनोनित गर्न बाँकी रहेकाले यसअघिका सदस्य पुनः दोहोरिने सम्भावना उत्तिकै छ । विगतमा पनि मनोनित हुने व्यक्ति पटक पटक कार्य समितिमा पुगेकै व्यक्ति परेका छन् ।

नवनिर्वाचित कार्य समितिमा उप–सभापतिमा शान्ति श्रेष्ठ र सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उप–मन्त्री तेजबहादुर सुवेदी, उप–कोषाध्यक्ष दुःखीराम लोनिया निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, राजकुमार वर्मा, नरेन्द्रकुमार पौडेल, यज्ञनारायण शर्मा, यमनारायण महतो, मीनबहादुर मल्ल निर्वाचित भएको निर्वाचन अधिकारी नवराज ढुङ्गानाले जानकारी दिए (पढ्नुस् मत सूची )।
संख्या बृद्धि गर्न महिला सदस्यको कोटा निर्धारित गरेपछि कार्य समितिमा महिलाको संख्या चार पुगेको छ । उद्घाटन शत्रमा उपसभापति शान्ति श्रेष्ठले अघिल्लो कार्य समितिमा आफू एक्लो महिला भएकोमा पहिलो पटक महिलाको संख्या बृद्धि गरिएको बताएकी थिइन् ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनमा शाखाका मन्त्री अजीज अहमद सिद्धिकीको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो ।

डा.पाण्डे र एनटीभीलाई सम्मान

अधिवेशनको अवसरमा रक्तसञ्चार सेवाको प्रवद्र्धन एवं प्राविधिक विषयमा उल्लेख्य योगदान गरेको भन्दै भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र रेडक्रस अभियानको प्रचारप्रसार कार्यमा उल्लेखनीय योगदान पु-याउने नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रलाई सम्मान गरिएको थियो ।

रेडक्रसका जिल्लाका १७ वटा उप–शाखामध्ये वार्षिक कार्यसम्पादन मूल्यांकनको आधारमा कोहलपुर उप–शाखालाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको थियो ।