महिला उद्यमीका लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा

नेपालगन्ज : महिला उद्यमीका उत्पादनलाई बजारीकरणमा सहयोग गर्दै प्रोत्साहन गर्ने उद्देश्यले नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०७९ सुरु भएको छ ।
महिला उद्यमी संघ नेपाल, बाँकेले बागेश्वरी मन्दिर नेपालगन्जको परिसरमा आयोजना गरेको प्रदर्शनीको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमूनाले शुक्रबार उद्घाटन गरेकी हुन् ।
मन्त्री नमूनाले महिलाहरु आफैं आत्मनिर्भर भएर आफनो क्षमताको विकास गरेर अघि बढ्न सक्नुपर्ने बताइन् । उनले घरमै उत्पादन गरेर निर्माण गरेका वस्तु र उत्पादनलाई प्रचार गर्नमा मेलाले ज्यादै सहयोगी भूमिका खेल्ने भएकोले मेलाको सदुपयोग गर्न उनले महिला उद्यमीलाई आग्रह गरिन् । उनले महिला उद्यमीको भावना अनुसारको काम र एजेन्डालाई पुरा गर्ने प्रतिवद्धता जनाइन् ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, प्रदेश सभासद मीना श्रेष्ठ, प्रदर्शनी संयोजक साबित्रा बस्नेत, संघका लुम्बिनी प्रदेश संयोजक एवम् केन्द्रिय सदस्य सरस्वती शर्मा, संघका बाँके पूर्वअध्यक्ष कुसुम बस्नेत महिला उद्यमी र प्रदर्शनीबारे धारणा राखेका थिए । फागुनको ९ गते सम्म चल्ने प्रदर्शनीमा ६० वटा स्टलमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान र सुर्खेत लगायतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको उद्घाटनको अवसरमा लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी नमूना, प्रदेशसभा सदस्यद्वय माया पुन र मीना श्रेष्ठलाई आयोजक संघले सम्मान गरेको थियो ।