‘सिमित साधन स्रोतमा पनि नेपालगन्जका पुनःस्थापना गृह व्यवस्थित’

नेपालगन्ज : नेपालगन्ज नगरमा सञ्चालित पुनःस्थापना गृह सिमित साधन भए पनि व्यवस्थित रुपमा सञ्चालन भइरहेको नगरको अनुगमन टोलीले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले सोमबार नगरमा सञ्चालित पुनःस्थापना गृहहरुको अनुगमन गरेको थियो । नेपालगन्जको सीमा नाकामा मानव बेचविखन प्रेरित क्रियाकलाप, महिला तथा बालबालिका ओसारपसार, जाखिमपूर्ण यात्रा गरिरहेकाहरुको चाप बढी देखिने गरेको छ । शंकास्पद गतिविधि र क्रियाकलाप देखिएकाहरुलाई आवश्यक सोधपुछ र खोजीनीति गरेर शंकास्पद व्यक्तिहरु र पीडितहरुलाई अल्पकालीन आश्रम दिन पुनःस्थापना गृह सञ्चालनमा छन् । पुनःस्थापना गृहहरुले पीडितहरुलाई कानुनी उपचारमा सहयोग सँगसँगै समाजमा पुनःस्थापनाले काम गरिरहेका छन् । अनुगमनका क्रममा पुनःस्थापना गृहहरुको संस्थागत अवस्था, भौतिक पूर्वाधार, सञ्चालन कार्यविधि लगायत विद्यमान समस्याहरुबारे जानकारी लिइएको थियो । अनुगमन कार्यदल संयोजक महिला विकास अधिकृत पवित्रा पुरीले अनुगभनपछि भनिन्, पुनःस्थापना गृहहरु सीमिति स्रोत साधनका बाबजुद पनि व्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइयो ।
टोलीले साथी, साना हातहरु नेपाल, शान्ति पुनःस्थापना गृह, माइती नेपाल र शक्ति समूहको पुनःस्थापना गृहको अनुगमन गरेको हो ।
नगर प्रमुख विष्टसँगैै नगर उप प्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ६ का वडाध्यक्ष समीरप्रताप सिंह, वडा नम्बर २० का वडाध्यक्ष कौशल धोबी, अनुगमन कार्यदल संयोजक महिला विकास अधिकृत पवित्रा पुरी तथा सदस्यद्वय निवर्तमान नगर उप प्रमुख उमा थापा मगर र प्रेस सल्लाहकार नवीन गिरी अनुगमन टोलीमा संलग्न थिए ।