नगर प्रहरीको काम सरसफाइ कि शान्ति सुरक्षा ?

कोहलपुर : कोहलपुर नगर प्रहरीको आयोजनामा शुक्रबार कोहलपुर नगरपालिका वडा नं. १३ मा सरसफाइ गरिएको छ । वडाको राजमार्ग क्षेत्र र भित्री बस्तीको सरसफाइ गरिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।
जनप्रतिनिधि, स्थानीय क्लब, स्थानीयबासीसँगको सहकार्य र समन्वयमा उनीहरुको प्रत्यक्ष सहभागितामा सरसफाइ गरिएको हो ।
कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, र कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आले कुचो बोकेर सरसफाइमा खटिएका थिए ।
नगरपालिकाले दुई महिना अघिदेखि नै सार्वजनिक स्थानमा फोहोर नफाल्न आग्रह गर्दै नगरपालिकाभित्र माइकिङ गर्दै आएको नगर प्रहरी प्रमुख थापा बताउँछन् । पहिलो चरणमा नगर प्रहरी आफै खटिएर फोहोर फाल्ने काम गर्दै आएको छ । त्यसमा नगरबासीलाई जथाभावी फोहोर नफाल्न सचेत बनाउने काम गरेको छ । अर्को पटक भने सार्वजनिक स्थानमा फोहोर फालेको पाइए कारबाही गर्ने रणनीति नगर प्रहरीले लिएको छ । त्यसको अभ्यास पनि नगर प्रहरीले गर्न सुरु गरिसकेको छ । नगर प्रहरीले सार्वजनिक स्थानमा जथाभावी फोहोर फालेको पाइए ५ हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिराउने गरि कारबाही अभियान सुरु गरेको हो । नगरमा शान्ति सुरक्षा गर्ने प्रमुख जिम्मेवारी हुने नगर प्रहरी फोेहर व्यवस्थापनमा लाग्दा स्थानीले कोहलपुर नगर प्रहरीको काम सरसफाइ कि नगर सुरक्षा ? भनेर प्रश्न गरिरहेका छन् ।