गोलभेंडा दल्दै कोहलपुरमा होली मनाइने !

गोलभेंडा उत्सवबारे जानकारी दिन कोहलपुरमा आयोजित पत्रकार सम्मेलन

नेपालगन्ज : बाँकेको कोहलपुरमा गोलभेंडा दलेर होली मनाइने भएको छ ।
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) बाँके च्याप्टरको आयोजना, होटल एशोसियशन अफ नेपाल (हान) बाँकेको सहआयोजना तथा कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघको आगामी २३ फागुन मंगलबार होलीको दिन गोलभेंडा उत्सव नेपाल–२०२३ गर्न लागिएको हो ।
आइतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा कोहलपुरलाई पर्यटकीय नगरको रुपमा ब्राण्डिङ्ग गर्न नेपालमै पहिलो पटक गोलभेंडा महोत्सव गर्न लागेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
भाइचारा, सद्भाव र रंगहरुको पर्व होली जस्तै देखिने यो गोलभेंडा उत्सवमा स्थानीय किसानहरुले उत्पादन गरेको गोलभेंडाको प्रयोग गरिनेछ । स्पेन, इटली र भारतका केही सहरमा गोलभेंडा उत्सवलाई पर्यटनसँग जोडेर गोलभेंडा पर्व मनाइने गरिन्छ । जहाँ एक आपसमा गोलभेंडा दलेर मनाइने यो पर्व मनाउन विश्व भरीका पर्यटकहरुले आयोजक समक्ष आवेदन समेत दिने गर्छन् ।

स्पेनको भ्यालेन्सिया क्षेत्रको बुनोल सहरमा लोक महोत्सव टोमाटिनामा टमाटरहरू छ्यापेर उत्सव मनाइँदै पर्यटकहरु । फोटो : spainenglish.com