पश्चिम नेपालबाट लायन्सकोे चौथो गभर्नरमा ढकाल निर्वाचित

नेपालगन्ज : लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालको गभर्नरमा मुकुट ढकाल निर्वाचित भएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको कैलालीको धनगढीमा शनिबार सम्पन्न प्रथम कन्भेन्सनबाट लायन वर्ष २०२३–२०२४ का लागि ढकाल डिष्ट्रिक गभर्नर निर्वाचित भएका हुन् । उनी यसअघि फस्ट भीडीजी थिए । निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत एस मत ल्याउनु पर्ने प्रावधान रहे पनि ढकालले झन्डै ९९ प्रतिशत एस मत ल्याएका थिए ।
त्यसैगरी फस्ट भीडीजीमा दाङका विनोदकुमार श्रेष्ठ र सेकेन्ड भीडीजीमा ज्ञानेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । गभर्नर ढकालले नेपालगन्ज उपमहानगरपालिकाका पूर्वउप–प्रमुख उमा थापा मगरलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको सचिव र तेज अधिकारी कोषाध्यक्षमा मनोनित गरेका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको ढकाल दोस्रो गभर्नर बनेका हुन् । नेपालमा ५२ वर्षे इतिहास बोकेको लायन्समा ढकाल पश्चिम क्षेत्रबाट चौथो गभर्नर बनेका हुन् । यसअघि पश्चिम नेपालबाट पहिलो पटक शेम शाक्य सन् २०१२–२०१३ मा गभर्नर बनेका थिए । नेपालगन्जकै मधुसुधन शर्मा रिजाल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टुुको पश्चिमबाट दोस्रो गभर्नर बनेका थिए । सुदूरपश्चिमका सीबी चन्द लायन्सको पश्चिमबाट तेस्रो गभर्नर बनेका थिए । यद्यपि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको उनी संस्थापक गभर्नर पनि हुन् ।
सन् १९७१ मा नेपालमा लायन्स क्लब स्थापना भएको थियो । सुरु सुरुमा देशमै एउटा मात्र डिष्ट्रिक क्लब थियो । त्यसको केही वर्षपछि २ वटा डिष्ट्रिक भयो । दुईबाट चार वटा डिष्ट्रिक बनाइयो । गत वर्ष देशभरी डिष्ट्रिकको संख्या १५ वटा पुगेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनमा भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १३० वटा क्लब आबद्ध छन् । यो डिष्ट्रिकमा झन्डै तीन हजार सदस्य छन् ।