महिलालाई कार्यकारी भूमिकासहितको सहभागिता चाहियो : मन्त्री नमुना

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमुनाले दलहरुले महिलालाई कार्यकारी भूमिका सहितको राजनीतिक सहभागिता नगराएको आरोप लगाएकी छन् ।
नेपाल लिडरसीप एकेडेमीले आइतबार नेपालगन्जमा आयोजना गरेको महिलाका लागि राजनीतिक साक्षरता विषयक कार्यशालामा मन्त्री नमुनाले संवैधानिक र कानुनी रुपमा महिलालाई ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको भए पनि दलहरुले महिलालाई अवसर नदिएको गुनासो गरिन् ।
‘महिलाले पनि देशको सर्वोच्च पद हाँक्न सक्छन् तर बागमति प्रदेशमा अष्टलक्ष्मी शाक्य वाहेक अरु प्रदेशमा महिलालाई मुख्यमन्त्रीका लागि योग्य ठानिएन’, मन्त्री नमुनाले यर्थाथता दर्शाइन्, ‘महिलाले नसक्ने होइन । महिलाले पनि मुख्यमन्त्री र प्रधानमन्त्री बन्ने हैसियत राख्छन् तर टिकट दिँदा नै महिलालाई पछाडि पारिन्छ । सहभागिता गराएर पनि महिलालाई भूमिका विहीन गरिन्छ ।’

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यसमेत रहेकी उनको सैद्धान्तिक र वैचारिक रुपमा फरक फरक पार्टीमा रहे पनि महिलाका एजेण्डामा सबै दलका महिलाको एकै ठाउँमा उभिनुपर्ने भनाइ थियो । ‘सैद्धान्तिक र वैचारिक रुपमा फरक फरक दलमा हुन्छौं । महिलाका इस्यु र एजेण्डा त सबै दलका महिलाको एउटै हुन्छ । महिलाको मुद्दामा दलभन्दा पनि माथि उठेर नैतिक समर्थन गर्न सकिन्छ । गर्र्न जरुरी छ’, उनको सुझाव थियो, ‘समाजका हरेक क्षेत्रमा क्रियाशील महिलाहरु महिलाको मुद्दामा एक ठाउँमा हुनुपर्छ । अनि मात्र महिलालाई संवैधानिक र कानुनी रुपमा प्राप्त अधिकार कार्यान्वयन गर्न सजिलो हुनेछ ।’

कार्यक्रममा नेकपा (एमाले)का लेखा आयोग सदस्य विजया धितालले पनि राज्यले आरक्षण गरिएको बाहेक महिलाको कार्यकारी भूमिका सहितको सहभागिता नहुने गरेको टिप्पणी गरिन् । उनले महिला जागरुक नभएसम्म अधिकार सम्बोधन नहुने भन्दै हक अधिकारका लागि महिला सशक्तिकरण हुनुपर्ने बताइन् । ‘राजनीतिक दलले महिलालाई बाध्यकारी अवस्थामा मात्र अवसर दिएका छन् । यो बाध्यकारी व्यवस्थाले महिलाको सहभागिता हुने गरेको छ अब कार्यकारी भूमिका सहितको सहभागिता आवश्यक छ ।’

नेपाल लिडरसीप एकेडेमीका प्रोजेक्ट लिडर पुजा वैश्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य मीना चदरा ‘मनिषा’, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, अधिवक्ता विश्वजीत तिवारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष यमनाथ घिमिरे, अन्तर पार्टी महिला सञ्जाल बाँकेका उपाध्यक्ष गीतादेवी राना, महिला नेतृ कृष्णा पाण्डे, पत्रकार रुपा गहतराज लगायतले राजनीतिक दलमा महिला अधिकार र महिलाको नेतृत्वदायी भूमिकाबारे धारणा राखेका थिए ।