नगर प्रमुख थारुको नेतृत्वमा राजापुरको सिकाइ परियोजनाको अनुगमन

नेपालगन्ज : बर्दियाको राजापुर नगरपालिका प्रमुख दीपेश थारुको नेतृत्वको टोलीले नगरका सामुदायिक विद्यालयहरुमा सञ्चालित सिकाइ परियोजनाको संयुक्त रुपमा अनुगमन गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिकाको समन्वय तथा सहकार्यमा सामाजिक सचेतन सरोकार मञ्च स्याक नेपाल बाँकेले सञ्चालन गरेको सिकाइ परियोजनाले नगरका सामुदायिक विद्यालयमा अभिभावक शिक्षा, नमुना कक्षाकोठा व्यवस्थापनका लागि सामाग्री सहयोग, शिक्षकहरुको क्षमता विकास तालिम, फुलवारी निर्माणका लागि सहयोग, बालमैत्री कक्षाका लागि भित्ते लेखन, न्यून सिकाइ भएका बालबालिकाहरुका लागि श्रोत कक्षा सञ्चालन गरिरहेको छ ।
नगर प्रमुख एवम शिक्षा समितिका संयोजक थारुको संयोजकत्वमा नगर शिक्षा शाखा प्रमुख दलबहादुर चौधरी, स्याक नेपालका कार्य समिति सदस्य बविता सिंह, सीता काप्ले सिकाइ परियोजना संयोजक लक्ष्मीप्रसाद शर्मा, सुपरभाइजर रेणु चन्द तथा दशलाल चौधरी लगायतको सरोकारवालाले बुधबार संयुक्त रुपमा अनुगमन गरेका हुन् । अनुगमन टोली राजापुर नगरपालिको वडा नं ३ र ९ मा रहेका दुर्गा भवानी प्राथामिक विद्यालय र बागेश्वरी प्राथामिक विद्यालयमा पुगेको थियो ।

अनुगमनपछि नगर प्रमुख थारुले परियोजनाले गरेका असल अभ्यास अनुकरणीय भएको, पूर्वप्राथामिक तहका कक्षाहरुलाइ बालमैत्री लैगिक मैत्री, वातारणमा कक्षा शिक्षण सिकाइ गतिविधि सञ्चालन भएको भन्दै प्रशंशा गरेका थिए ।
अनुगमनका क्रममा दुर्गा भवानी प्राथामिक विद्यालयका प्रधानाध्यापक शान्ति चौधरीले स्याकमार्फत विद्यालय सञ्चालनका लागि धेरै सहयोग भएको बताइन् । ‘आज नमूना विद्यालय निर्माण भएको छ । यसमा स्याक नेपालको महत्वपूर्ण भूमिका रह्यो’, चौधरीले भनिन् ।
स्याक नेपालले सिकाइ परियोजनामार्फत विगत ४ वर्षदेखि विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकहरुको पेशागत क्षमता विकास तालिम, शिक्षा योजना निर्माण ,शिक्षा नीति निर्माण, स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला, अभिभावक शिक्षा कार्यक्रम, सिकाइमा कमजोर भएका बालबालिकाहरुको सिकाइ बृद्धिका लागि श्रोत कक्षा सञ्चालन जस्ता गतिविधिहरु सञ्चालन गरिरहेको छ ।