‘१०० रुपैयाँमा वार्षिक ग्राहक बन्नुस्, मर्मत सेवा लिनुस्’

नेपालगन्ज : चार दिन अघि नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता प्रमोद रिजालले फोटो पोस्ट् गर्दै एउटा फेसबुक स्टाटस लेखे, ‘नेपालगन्जमा मर्मतको क्षेत्रमा नयाँ अवधारणासहित सेवा सुरु गरेको तुरुन्त मर्मतको वार्षिक ग्राहक बन्ने अवसर प्राप्त भयो ।’
प्रवक्ता रिजाल के को वार्षिक ग्राहक बनेका हुन् ? के को मर्मत गर्ने हो ? नेपालगन्जको तुरुन्त मर्मतका सञ्चालक ऋषि पोखरेल प्रष्ट पार्छन्, ‘हामी विद्युत, खानेपानी धारा, किचन, शौचालय, एसी, वासिङ मेसिन, पंखा, टेलिभिजन, इन्डक्सन, इलेक्ट्रिक गिजर, रेफ्रिजेरेटरलगायतको मर्मत सेवा दिन्छौं ।’
नगरमा पटक पटक विद्युत सर्ट भएर आगलागी हुने गरेको छ । नियमित रुपमा घरमा विद्युतको अवस्था चेकजाँच मात्र गर्न सके विद्युत सर्टबाट हुने आगलागीबाट जोगिने पोखरेलले दाबी गरे । राजधानी बाहिर पहिलो पटक यस्तो सेवा नेपालगन्जबाट सुरु भएको छ । खजुरा लगायत जिल्लाका अन्य स्थानीय तहमा पनि सेवा विस्तारकै क्रममा छ । ग्राहक बनाउने क्रम जारी छ । ‘हामीलाई खबर आएको कम्तीमा ३० मिनेटदेखि बढीमा दुई घण्टाभित्र सेवा दिन्छौंं’, अनि वार्षिक ग्राहक बनेर के फाइदा हुन्छ त ? सञ्चालक पोखरेल भन्छन्, ‘वार्षिक ग्राहक बनेको व्यक्तिको घरमा हामी वर्षमा चार पटक विद्युत, खानेपानी, शौचालयलगायतको अवस्था कस्तो छ भनेर निःशुल्क चेकजाँच गर्छौ । तुरुन्त मर्मतको मात्र १०० रुपैयाँमा ग्राहक बन्नुस्, वर्षमा चार पटक निःशुल्क मर्मत सेवा लिनुस् ।’