बर्फानी बाबा आश्रममा खानेपानीको व्यवस्था गर्न माग गर्दै सिडियो आचार्यलाई ज्ञापन-पत्र

नेपालगन्ज : बाँकेको बर्फानी बाबा आश्रममा खानेपानीको व्यवस्था गर्न माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई ज्ञापन पत्र बुझाइएको छ ।
जिल्लाका उच्च सुरक्षा अधिकारीसँगै सोमबार बिहान बर्फानी बाबा आश्रमको अवलोकन गर्न पुगेका प्रजिअ आचार्यसँग बर्फानी बाबाले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा आश्रममा दैनिक चालिस पचास जना भक्तजनहरु आउने गरेकोमा खानेपानीको व्यवस्था गर्न नसकिएको भन्दै नजिकैको खोलामा समरसेल गाडेर सोलार पावर मार्फत खानेपानीको व्यवस्था गर्न बर्फानी बाबाले आग्रह गरेका थिए ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ आचार्यले खानेपानीका लागि आफूले पहल गर्ने बताएका थिए । प्रजिअ आचार्यसँगै नेपाल प्रहरीका बाँके प्रमुख एसपी सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपालगन्जका प्रतिष्ठित समाजसेवी र पत्रकारको सहभागिता रहेको थियो ।

केही दिन अघि लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमुना र नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डीआइजी (हाल एआइजी) टेकप्रसाद राईले पनि बर्फानी बाबा आश्रमको स्थलगत अवलोकन गरेका थिए । डीआइजी राईले तत्कालै बर्फानी बाबा आश्रममा हतियारसहितका सुरक्षाकर्मी थप गरेका थिए ।