सत्तीको पद्म प्रकाशेश्वर मन्दिरमा बुधबारदेखि महायज्ञ हुँदै
मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर नगरपालिका-७ सत्तीको पुरातात्त्विक महत्त्व बोकेको पद्म प्रकाशेश्वर मन्दिरमा बुधबारदेखि महायज्ञ सुरु हुने भएको छ ।
चैत ८ गतेदेखि १५ गतेसम्म श्रीमद् भागवत भक्ति संगत अनुष्ठान २०७९ हुने भएको महायज्ञ हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिए । बुधबार विभिन्न जात जातिका झाँक्री सहित बिहान ८ बजे कलशयात्रा निकाल्ने तयारी रहेको अध्यक्ष कायस्थले जनाएका छन । परापूर्वकालमा भगवान पर्शुरामले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो, पुर्वाभिमुख भएको विश्वकै दुर्लभ शिवलिङ्ग रहेको पद्म प्रकाशेश्वर महादेव मन्दिरको आयोजनामा ११ वर्षपछि पुनः महायज्ञ गरिन लागेको अध्यक्ष कायस्थले बताए । महायज्ञबाट संकलन भएको रकमले मन्दिरको क्षेत्र विस्तारका लागि ५ कठ्ठा जग्गा किन्ने लक्ष्य रहेको छ । महायज्ञमा राष्ट्रिय विभूषित कथा ब्यास नारीरत्न विदुषी आचार्य सुश्री अनुराधा देवीजीको मुखारबिन्दुबाट कथा वाचन हुनेछ। महायज्ञ अवधिमा बिहान ७ बजे पुजापाठ हुने ८ बजे पाठपारायण र १० देखि ४ बजेसम्म कथा बाचन हुनेछ ।