८औं राष्ट्रिय खेलकुदपछि गाभरमा लुम्बिनी प्रदेश स्तरीय साइकल प्रतियोगिता हुँदै
नेपालगन्ज : ८औं राष्ट्रिय खेलकुदमा साइकल प्रतियोगिता भएको बाँकेको गाभरको साइकल ट्रेलमा लुम्बिनी प्रदेश स्तरीय साइकल प्रतियोगिता हुने भएको छ ।
बाँके जिल्ला साइक्लिङ संघको आयोजनामा आगामी शनिबार गाभरको जंगलमा चार किलोमिटर ट्रेलमा बाँके, दांग र रुपन्देहीका साइकल यात्रीबीच एक्ससीओ फर्मेटको लुम्बिनी प्रदेश स्तरीय एमटीबी च्यालेञ्ज २०२३ साइकल प्रतियोगिता हुुन लागेको बिहीबार संघले नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । संघका अध्यक्ष गगन थापा पोखरापछि कहीँ पनि साइकल ट्रेल नभएको र यहाँ भएको ट्रेल अन्तर्राष्ट्रिय मापदण्डको भएको दाबी गर्छन् । उनले पत्रकार सम्मेलनमा भने, ‘यो अफ रोड ट्रेल हो । तराईको जिल्ला भए पनि अप हिल र डाउन हिल दुबै छ । यहाँ साइकल प्रतियोगितामा सहभागी हुनेले जुनसुकै साइकल ट्रेलमा चलाउन सक्नेछन् ।’
प्रतियोगिता संयोजक कविराम बुढाथोकीका अनुसार ७ जना महिलासहित १८ जनाले भाग लिनेछन् । संघको केन्द्रीय कार्यालयका कमिसार शैलेन्द्र महर्जन साइकल प्रतियोगितामा सहभागी हुन हेल्मेटसहितको माउन्टेन बाइक हुनुपर्ने सर्त भए पनि सुरक्षाका लागि सहभागीले पञ्जा, चस्मा, जुत्ता लगाउनुपर्ने बताउँछन् ।