महिलाले खोसेर लडेर अधिकार लिनुपर्छ : सांसद थारु

नेपालगन्ज : लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी थारुले महिलाले अझै पनि खोसेर लडेर अधिकार लिनुपर्ने अवस्था रहेको बताएकी छन् ।
नेपाल लिडरसीप एकेडेमीको आयोजनामा शुक्रबारदेखि नेपालगन्जमा आयोजना गरिएको तीन दिने महिलालाई राजनीतिक साक्षरता र लिडरसीप तालिमको समापनको प्रमुख अतिथि बनेकी सांसद थारुले देशको नीति, कानुन र संविधानले महिलाको प्रतिनिधित्व ग्यारेन्टी गरेको भए पनि पितृसतात्मक विभेदकारी सोचका कारण महिलालाई राजनीति गर्न गाह्रो भएको बताइन् । ‘छोरीलाई घरमै विभेद हुन्छ । घरमैै विभेदको शिकार भएकी छोरीले समाजमा काम गर्न गाह्रो हुन्छ’, उनले भनिन्, ‘प्राकृतिक रुपमा बाहेक महिलाले पुरुष सरह सबै काम गर्न सक्छन् । अधिकार नपाउँदा अब खोस्न पनि सक्नुपर्छ ।’

नेपाल लिडरसीप एकेडेमीको प्रोजेक्ट लिडर पूजाकुमारी वैश्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) लेखा आयोग सदस्य विजया धिताल, नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगर, जसपा प्रदेशसभा सदस्य सुशीला पौडेल, राप्रपा जिल्ला सदस्य उर्मिला शाह, मेरो खुसी डटकमका सम्पादक तथा अन्नपूर्ण पोस्ट् दैनिकका उप सम्पादक शंकरप्रसाद खनाल, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष माधव खत्रीलगायतले राजनीतिमा महिलालाई निर्णायक भूमिकासहित सहभागी गराउनुपर्नेमा जोड दिएका थिए ।

नेपाल लिडरसीप एकेडेमीको प्रोजेक्ट लिडर पूजाकुमारी वैश्यले राजनीतिमा महिला सहभागिता न्यूून भएकाले क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनी भन्छिन्, ‘किशोरी र महिलाको क्षमता विकास गरेर घर, समाज, दल र राज्यका विभिन्न जिम्मेवारीमा नेतृत्व लिन सक्ने बनाउने हो ।’
तालिममा नेपालगन्ज उपमहानगरपालिकाका पूर्व–उपप्रमुख उमा थापा मगरले राजनीतिक साक्षरता र पत्रकार शंकरप्रसाद खनालले नेतृत्व विकासका विषयमा सहजीकरण गरेका थिए । तालिमममा बाँकेको नेपालगन्ज, खजुरा, जानकीलगायतका स्थानीय तहका २५ जना किशोरी र महिलाको सहभागिता रहेको थियो ।