अछामका सुधारवादी नेता शाहको १०३औं जन्मजयन्ती मनाइयो
नेपालगन्ज : अछामका सुधारवादी नेता स्वर्गीय पूर्णबहादुर शाहको १०३औं जन्मजयन्ती मनाइएको छ ।
पूर्णचन्द्र स्मृति संग्रहालय अछामले आइतबार नेपालगन्जमा जन्मजयन्ती मनाएको हो । संग्रहालयका अध्यक्ष तथा शाहका छोरा लोकेन्द्रबहादुर शाह लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व.शाहको व्यक्तित्वबारे चर्चा गरेका थिए ।
संग्रहालयका सदस्य तथा शाहका नाती जयनारायण शाहले सञ्चालन गरेको कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, पूर्वअध्यक्ष तेजविक्रम शाह, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, बासका निवर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, पूर्वकेन्द्रीय अध्यक्ष मन भण्डारी, उपाध्यक्ष शिवकुमार वर्मा, सचिव दिला शाह लगायत ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।
१२ चैत्र १९७७ मा अछाममा जन्मिएका शाहको २६ साउन २०४४ सालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । जिल्लाको तत्कालीन नाडा गाउँ पन्चायतका पूर्वप्रधानपन्च शाहले विकासवादी नेताको परिचय बनाएका थिए । सुधारवादी छविका कारण उनले अछामी जनताको मन जितेका थिए । शाहको सम्मानमा अछाम तुर्माखाँदको नाडास्थित पुख्यौंली घरलाई जिर्णोद्वार गरेर पूर्णचन्द्र स्मृति संग्रहालय बनाइएको छ । संग्रहालयको गत वर्षको १२ चैतमा उद्घाटन गरिएको थियो ।