भेरी अस्पतालमै एमडी स्तरको पढाइ हुँदै !

न्याम्सका एमडी, एमएस, डीएम, एमसीएमा अध्ययरत विशिष्टिकृत चिकित्सक अध्ययनका लागि भेरी अस्पतालमा आउने

शंकरप्रसाद खनाल । नेपालगन्ज
लुम्बिनी प्रदेश सरकारका निवर्तमान मन्त्री कृष्णा केसी नमुनाले बुधबार साँझ फेसबुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरसहित सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिएकोमा प्रधान्नमन्त्रीलाई आभारसहित हार्दिक कृतज्ञता व्यक्त गरिन् । नमुनाको स्टाटससँगै बाँकेबासीमा खुसी र उत्साहको सञ्चार भएको छ ।
डेढ दशकदेखि शिक्षण अस्पतालको माग गरिरहेको भेरीलाई न्याम्सको आंगिक अस्पताल बनाउँदा के हुन्छ त ? लुम्बिनी प्रदेशसभा सदस्य तथा भेरी अस्पताल विकास समितिको पूर्व सदस्य समेत रहेकी नमुनाले मेरो खुसीसँग टेलिफोन सम्पर्कमा भनिन्, ‘भेरी अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न हामीले धेरै प्रयास गरेका थियौं । एमडी स्तरका विद्यार्थीका लागि (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सरकारले अनुमति दिएर हाम्रो सपना पूरा गरेको छ ।’
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री चापागाईले सरकारको स्वीकृति दिएसँगै न्याम्सका एमडी, एमएस, डीएम, एमसीएमा अध्ययरत विशिष्टिकृत चिकित्सक अध्ययनका लागि भेरी अस्पतालमा आउने बताए । उनले भने, ‘अहिलेसम्म हामीले विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवा मात्र दिएरहेका छौं । न्याम्सको शैक्षिक कार्यक्रम सञ्चालन भए बिरामी हेर्ने, बिरामीको उपचार गर्ने, बिरामीको उपचार पद्दतिबारे प्राज्ञिक थलोको रुपमा भेरी अस्पताल हुनेछ ।’ भेरी अस्पतालका योग्यता पुगेका विशेषज्ञ चिकित्सकलाई न्याम्सले उप प्राध्यापक, सह प्राध्यापक र प्राध्यापकको रुपमा नियुक्त गरेर शैक्षिक गतिविधिमा संलग्न गराउने सम्भावना छ ।
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गरेको पत्राचारमा गत १० फागुनको मन्त्रिपरिषद्को बैठकले ‘संघीय अस्पतालहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक क्याम्पसको रुपमा सञ्चालन गरी शैक्षिक कार्यक्रम विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार नेपाल सरकार (कार्य सम्पादन) नियमावली २०६४ को नियम २९ बमोजिम स्वीकृति दिएको उल्लेख छ । भेरी अस्पताल नेपालगन्ज काठमाडौंको वीर अस्पतालसँगै वि.स. १९४७ मा पृथ्वी–वीर डिस्पेन्सरीको नाममा भेरी अस्पतालको स्थापना भएको थियो । अस्पतालले हालै १३२औं वार्षिकोत्सव मनाएको छ ।