‘स्ट्रीट फुड कोरिडोर’बारे नेपालगन्जमा बहस
नेपालगन्ज : ठेलामा चाट होस् वा अरु परिवार बेच्नु अनि चोक चौराहामा उभिए खानु नेपालगन्जीया संस्कार नै हो । त्रिभुवन चोक ठेलाको चाटका लागि लोकप्रिय छ तर नगरभरी फलफूल र तरकारी पनि ठेलामा बेचेको देखिन्छ । स्ट्रीट फुडका लागि कहाँ जाने निश्चित बजार छैन । विदेशमा जस्तै नेपालगन्जमा पनि स्ट्रीट फुड कोरिडोर बनाउनेबारे यहाँ छलफल सुरु भएको छ ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले शुक्रबार बिहान फेसबुकमा त्रिभुवन चोक (रानीतलाउ रोड), सदरलाइन र न्युरोड कुन ठाउँमा स्ट्रीट फुड कोरिडोर बनाउने भनेर फेसबुकमा स्टाटस लेखे । सिग्देलले दिउँसो नेपालगन्जका उद्योगी, व्यवसायी, खानाका पारखी, पर्यटनकर्मीसँग पनि छलफल गरेर सम्भाव्यताबारे बहस सुरु गरेका छन् ।
सतिश निरौलाले स्ट्रीट फुड कोरिडोरबारेको स्टाटसको मुन्तिर कमेन्ट लेखेका छन्, ‘नेपालगन्जको मुटु हो त्रिभुवन चौक । अब यसलाई गुलजार बनाउने योजना बनाउनुहोस् । जहाँ रात्रिकालीन किनमेल, खानपिन र घुमफिर निस्फिक्री गर्न मिलोस् ।’