स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्छ : महामन्त्री थापा

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य र शिक्षालाई निःशुल्क गर्नुपर्ने बताएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिबार उद्घाटन गर्दै पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य र शिक्षालाई पूर्ण रुपमा निःशुल्क गर्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ बनाउनु पर्ने बताएका हुन् ।
‘म स्वास्थ्य मन्त्री हुँदा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा अघि सारेको हुँ उनले भने, ‘यसका तीन वटा लक्ष्य छ । पहिलो रोगको पहिचान गर्ने, दोस्रो जनतासँग मिलेर रोग रोकथामको काम गर्ने र तेस्रो उपचार गर्ने ।’ नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारण भनेकै केन्द्र घरघरमा पुगेर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, रोग लाग्नु भन्दा पहिल्यैं अपनाउन सकिने सजगताबारे जानकारी प्रवाह गर्ने र उपचारको पहुँच नभएकालाई पहुँचमा ल्याउने रहेको पूर्वमन्त्री थापाले बताए ।
यसैगरी अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ठूलो मानवीय सेवा गरेको भन्दै प्रशंसा गरे । विपन्न समुदायका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई उपचार गरेर समाजमा पुनःस्थापना गर्नु निकै ठूलो काम भएको उनले बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी थारुले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गर्नुपर्ने सरकारसँग माग गरिन् । ‘सिकलसेलका बिरामीलाई सरकारले उपचार खर्च भनेर एक लाख रुपैयाँ दिने गरेको छ तर यस्तै प्रकृतिको थालेसेमियाका बिरामीलाई भने सरकारले राहात दिएको छैन, उनले भनिन् । अर्का लुम्विनी प्रदेशसभा सदस्य बसन्ती अधिकारीले पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताइन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले स्वस्थ व्यक्तिबाट मात्रै विकास सम्भव भएकाले नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी काम गरिरहेको बताए । कार्यक्रममा प्रवद्र्धन केन्द्र र अस्पताललाई १० कठ्ठा जग्गा दान गर्ने जग्गादाता स्वर्गीय पुन्सी थारुको अर्धकधको शालिकको समेत पूर्वमन्त्री थापाले अनावरण गरेका थिए ।

शनिबार नै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री थापाले आगामी २०८४ को निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्ने बताएका थिए । उनले भने, ‘अरु जुनसुकै दल जोसुकैसँग मिले पनि कांग्रेस अब एक्लै लड्ने तागत बोकेर चुनावमा जानेछ ।’निर्वाचन अघिको गठबन्धनले पार्टी जीवनलाई ध्वस्त बनाउने जिकिर गर्दै उनले निर्वाचन प्रणालीमा त्रुटी भए निर्वाचन प्रणाली नै बदलेर जानुपर्नेमा जोड दिए ।