युवा एमालेका खम्बा हुन् : एमाले अध्यक्ष ओली

नेपालगन्ज : नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन नेपालगन्जमा सुरु भएको छ ।
नेपालगन्जको सुर्खेत रोडस्थित होटल स्नेहमा सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् ।
अध्यक्ष ओलीले एमालेका युवालाई भेट्दा, बोल्दा, आचरण र व्यवहारबाट युवा संघमा लागेको भनेर परिचय दिनसक्नु पर्ने बताए । ‘युवा संघमा लागेका व्यक्ति आचार र बोली चालीबाटै चिनिनुपर्छ’, उनले भने, ‘कतिपय युवाको लत बिग्रिएको होलान् । अभिभावकसँग कुरा गर्नुस् । कसरी सही बाटोमा डो¥याउने हो मोटिभेसनल काम गर्नुस् ।’
उनले युवालाई पार्टीको बलियो खम्बाको संज्ञा पनि दिँदै युवा जोश, जाँगरका साथ जिम्मेवारी वहन गर्न आग्रह गरे । युवासंघको महाधिवेशनमा कुनै गुटबन्दी, लिस्ट बाँध्ने, पक्ष, विपक्षमा लाग्ने, जातीयता, धर्म सम्प्रदायको रुपमा नअल्झन ओलीको आग्रह थियो ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टीको नीति र सिद्धान्तलाई आत्मसात गर्दै युवा संघले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नुपर्र्नेमा जोड दिएका थिए । महाधिवेशनमा लोेकगायक बद्री पंगेनी, गायकहरु विश्व नेपाली, दृष्टिविहीन गायक प्रकाश तिमिल्सैना र गायिका अस्मिता अधिकारीले गीत प्रस्तुत गरेका थिए ।

सो अवसरमा पूर्वराज्यमन्त्री नेकपा (माओवादी केन्द्र)का नेता दलबहादुर सुनार लगायतका नेताहरु एमालेमा प्रवेश गरेका थिए । सोही अवसरमा अध्यक्ष ओली तस्बिरमा युवा संघ नामक पुस्तक पनि विमोचन गरेका थिए । तीन दिनसम्म चल्ने राष्ट्रिय युवा संघ नेपालको नवौं अधिवेशनमा देशभरबाट झन्डै दुई हजार प्रतिनिधि पर्यवेक्षक र स्वयंसेवकको सहभागिता रहेको छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।