बाँकेमा फेरि ४ किलो ९२७.२१८ ग्राम सुनसहित २ पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले झन्डै दुई वर्षको अवधिमा नौ किलो सुनसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार बुधबार राति ८ः४५ बजे नेपालगन्जको न्युरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा मोरङ विराटनगर महानगरपालिका–९ बस्ने वर्ष ४२ को रमेश सोनी र सोही ठाउँको वर्ष ३६ को प्रकाश ठाकुरलाई चेकजाँच गर्दा निजहरुले बोकेको झोलाभित्र ४ किलो ९२७.२१८ ग्राम सुनका गहनासहित पक्राउ गरिएको हो । प्रति तोला एक लाख ११ हजार रुपैयाँका दरले मोल गर्दा पनि बरामद गरिएको सुन चार करोड ६९ लाख पाँच हजार ७६३ रुपैंयाँ बराबरको रहेको बाँके प्रहरीको दाबी छ । प्रहरीले उनीहरुबाट ७ लाख ३३ हजार चार सय रुपैयाँ जम्मा गरेको एनआइसी एशिया बैंकको भौचर, एनएनबी बैंकमा ३ लाख ८६ हजार चार सय रुपैयाँको चेक र नगद ३५ हजार बरामद गरेको छ ।
बाँके प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी दुबै जनालाई सार्वजनिक गरेको थियो । बरामद गरिएको सुन र ब्यक्तिलाई प्रहरीले बाँकेको कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । यस अघि १८ भाद्र २०७८ मा पनि बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थलबाट ४ किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको थियो । श्री एयरको विमानबाट नेपालगन्ज आएका झापा खादुनावारी निवासी २६ वर्षका अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ अन्दाजी २६ वर्षीय बुद्धिमान खातीलाई विमानस्थलको आगमन कक्षबाहिर पट्टी शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी उनीहरुलाई रोकेर सोधपुछ तथा तलासी गर्दा सुन बरामद गरिएको थियो ।