सञ्चारकर्मीका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपालगन्ज : बाँकेका सञ्चारकर्मीका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेशन नेपाल, नेपालगन्जले आयोजना गरेको १० दिने तालिमका सहभागीहरुलाई लुम्बिनी प्रदेश सरकारका निवर्तमान मन्त्री कृष्णा केसी नमुनाले प्रमाणपत्र वितरण गरेकी हुन् ।
प्रदेशसभा सदस्य समेत रहेकी नमुनाले राज्यको चौथो अङ्गको रुपमा रहेकाले संवेदनशील भएर कलम चलाउन पत्रकारसँग आग्रह गरेकी थिइन् । उनले दबिएर रहेका आवाजलाई बुलन्द गर्न र समाजलाई सहि मार्गदर्शन गर्न र हरेक समस्याहरुलाई समाधानतर्फ लैजान पत्रकारले अहम् भूमिका निवाह गर्नुपर्नेमा जोड दिइन् ।

बिरमी चन्द्र फाउन्डेशन नेपालका अध्यक्ष डा. डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रमुख प्रशिक्षक हेमन्त कर्माचार्य, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डे, आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ लगायतले प्रशिक्षार्थीलाई सिकेको कुरा व्यवहारमा लागू गर्न आग्रह गरेका थिए । तालिममा बाँकेलाई कर्मथलो बनाएर टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गर्ने ४० जना सञ्चारकर्मी सहभागी भएका थिए । तालिममा प्रोजेक्ट वर्कको रुपमा विभाजन गरिएको ६ वटा समूहमध्ये शान्ति समूहका सदस्यलाई उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।