५ वर्षीया बालिकालाई बिमाको १० लाखको चेक हस्तान्तरण

नेपालगन्ज : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगन्जमा एक पाँच वर्षीया बालिकालाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरका ३२ वर्षीय रवि मिश्राको गत ७ पुसमा मोटर साइकल दुर्घटनामा परी निधन भएपछि ५ वर्षीय छोरी बैष्णवीलाई आइतबार घरमै पुगेर १० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी चेक हस्तान्तरण गरिएको हो । बिमा अवधि समाप्त हुँदासम्म बालिकाले २० लाख ५० हजार रुपैयाँ पाउने इन्स्योरेन्सका मुख्य व्यवसाय प्र्रबन्धक गंगा शर्मा पराजुलीले जानकारी दिइन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा रविले २०७७ साल मंसिर महिनामा १० लाखको १७ वर्षे बाल अमृत बिमा गरेका थिए । नेपालगन्ज १३ का वडाध्यक्ष सुरेशसिंह ठाकुर, नेशनल लाइफ ६ नम्बर प्रदेशका प्रदेश प्रमुख दीपनारायण खनाल, मुख्य व्यवसाय प्र्रबन्धक गंगा शर्मा पराजुली, व्यवसाय प्रबन्धक अनिलकुमार यादवलगायतको टिमले बालिकालाई रकम हस्तान्तरण गरेको हो । छोरीको उच्च शिक्षाका लागि सहज होस भनेर बिमा गरेका रवि तेस्रो किस्ता पनि बुझाउन नपाउँदै दुर्घटनामा परेका थिए । उनले दुई किस्ता बापत एक लाख २६ हजार रुपैंयाँ मात्र बुझाएका थिए ।