सांसद नमुनाद्वारा आगलागी पीडितलाई राहातको प्रतिबद्धता
नेपालगन्ज : लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले नरैनापुरका आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । नरैनापुरको वडा नम्बर ३, ४ र ६ मा रहेका आगलागी पीडितलाई भेटेर सांसद नमुनाले प्रदेश सरकारबाट राहत उपलब्ध गराइने बताएकी हुन् ।
‘आगलागीको घटनाले मलाई दुःखी बनाएको छ । तपाईको यो पीडामा केही भएपनि मल्हम लगाउन म पहल गर्छु’ उनले भनिन्, ‘प्रदेश सरकारले नियमानुसार दिने राहतको लागि पहल गर्छु । आवश्यक प्रक्रिया पु¥याएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुहोला ।’
आगलागी पीडितहरुले सांसद नमुनासँग मुचुल्का, सिफारिस लगायतका विषयमा समस्या भइरहेको गुनासो गरेका थिए । प्रहरी मुचुल्का, वडाको सिफारिस लगायतका प्रक्रिया पूरा गर्नको लागि उनले आफ्ना स्वकीय सचिव सूर्यप्रकाश घर्तीलाई समन्वयको भूमिका खेल्न खटाएकी छन् ।