फुटबलका पूर्वराष्ट्रिय खेलाडी शाहलाई गृह जिल्लामा सम्मान
नेपालगन्ज : बेलायतमा कार्यरत नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंग शाह (एमबीई)लाई गृह जिल्ला बाँकेमा सम्मान गरिएको छ ।
बाँके जिल्ला फुटबल संघले शुक्रबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रविन्द्र श्रेष्ठलगायतले शाहलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा ब्रिटिस आर्मी समीर मल्ल र बाँके जिल्ला फुटबल संघका सदस्य ईश्वर चन्दको पनि उपस्थिति रहेको थियो ।
शाह अहिले बिट्रिस आर्मीमा क्याप्टेनका रुपमा कार्यरत छन् । उत्कृष्ट काम गरेका कारण शाह बेलायती महारानीबाट सम्मानित समेत भएका थिए । नेपालगन्जबाट फुटबल करियर सुरु गरेका शाहले २०५४ सालमा नेपालको यु–१६ फुटबल टिम, नेपालगन्ज–११ टिम र अन्य विभिन्न क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । शाहले भारतको बहराइचमा भएको स्टेट स्तरको फुटबल प्रतियोगितामा निर्णायक गोल गर्दै नेपालगन्ज–११ लाई उपाधि दिलाएका थिए । नेपालगन्ज उप–महानगरपालिका–४ देवाफुलबारीका शाहले सन् २००१ मा भएको तत्कालिन राजा वीरेन्द्रको शुभजन्मोत्सव कपमा नेपालगन्ज–११ को तर्फबाट जावलाखेल फुटबल क्लबलाई हराएर क्वाटर फाइनलमा पुग्दा निर्णायक गोल गरेका थिए । उनी नेपालगन्जलाई आधा दर्जन महत्वपूर्ण प्रतियोगितामा सफलता दिलाउने खेलाडीमा पर्छन् ।