बर्दियाका शिक्षकलाई स्टिम शिक्षण तालिम
गुलरिया : बर्दियाका शिक्षकहरुका लागि स्टिम सम्बन्धी शिक्षण तालिम सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च स्याक नेपाल बाँकेको साझेदारीमा सञ्चालित सिकाइ परियोजनाले जिल्लाका ६ स्थानीय तहका शिक्षकहरुका लागि स्टिम सम्बन्धी शिक्षण तालिम दिएको हो । १५ वैशाखदेखि शुरु गरिएको तालिम १७ वैशाखसम्म ३ दिन सञ्चालन हुनेछ ।
विद्यालयमा लैंगिक समानता प्रबद्र्धन गर्न तथा लैंगिक संवेदनशील शिक्षण सिकाइ पद्दतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले शिक्षकहरुका लागि स्टीम एजुकेशनका बारेका गुलरियामा तालिम दिन सुरु गरेको हो । तालिममा जिल्लाका ६ स्थानीय तहमा परियोजना सञ्चालन भएका विद्यालयका २५ जना कक्षा शिक्षकको सहभागिता रहेको कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।
तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागू गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुनेछ । तालिममा शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्दति र कक्षा कोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशील शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा जानकारी गराइने प्रशिक्षक त्रिभुवन विश्वविद्यालयका सह प्रध्यापक कृष्ण खतिवडाले बताए ।
तालिम उद्घाटन शत्रमा स्याक अध्यक्ष शिवलाल पाण्डेले संस्थाले विगत लामो समयदेखि बर्दिया जिल्लाका स्थानीय तहसँगको समन्वयमा सामुदायिक विद्यालयमा गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि सहकार्य गरिरहेकाले विद्यालय तहको शिक्षा नमुनाका रुपमा स्थापित हुने अपेक्षा गरे ।