नेपालमा एक वर्षमा ५५ प्रेस स्वतन्त्रता हननका घटना

नेपालगन्ज : नेपालमा एक वर्षको अवधिमा ५५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् ।
नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा जारी गरेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी वार्षिक प्रतिवेदनमा मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ सम्म प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको देखाएको छ । यसबाट ९३ जना पत्रकार र ८ सञ्चार संस्था गरी १०१ पीडित भएका छन् ।
एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका २ घटना भएका छन् । कब्जा अवरोधका ७ , दुव्र्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका २, विस्थापन १ र पेशागत असुरक्षाका ५५ वटा घटना भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष यही अवधिमा ७५ वटा घटनाहरू अभिलेख भएका थिए ।


विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले जारी गरेको शुभकामना सन्देशमा प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनैतिक शक्ति अझै पनि अनुदार रहेको अनुभूति गर्न परिरहेको उल्लेख गरेका छन् ।
‘सरकार र संसद्को प्राथमिकतामा सञ्चारसँग सम्बन्ध कानुन र मुद्दाहरू पर्ने गरेका छैनन् । सञ्चार क्षेत्रमाथि जिम्मेवार राजनीतिक नेतृत्वबाट सञ्चार संस्था घेराउ गर्ने धम्कीसमेत सुनिदै आएको अवस्था छ । तर, यति हुँदाहुँदै पनि निरन्तर नागरिकलाई सूचना प्रवाह गर्ने, राज्यलाई खबरदारी गर्ने आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता निरन्तर लागिपरिरहेको अवस्था छ’, उनले भनेका छन्, ‘प्रेसमैत्री कानुन निर्माणका लागि पनि हाम्रो खबरदारीले काम गरिरहेको छ । हाम्रो लडाइँका कारण स्थगित भएका कानुन निर्माणका प्रक्रियाहरूलाई सही ढंगले अगाडि बढाउन राज्यसँग हामीले प्रतिबद्धता खोजिरहेका छौं ।’