‘शाही कू’ को सास्ती सम्झँदै बाँकेका पत्रकारद्वारा पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनको रिपोर्टिङ

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको कार्यक्रममा धारणा राख्दा महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे । फोटो : कमल डाँगीको फेसबुकबाट

नेपालगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालगन्जमा नागरिक अभिनन्दन हुँदै गर्दा बाँकेका पत्रकारले ‘शाही कू’ मा भोगेको सास्तीको प्रेस स्वतन्त्रताविरोधी कदम सम्झेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयक अन्तरक्रिया कार्यक्रममा शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्रले प्रेस क्षेत्रलाई पहिलो निसाना बनाएर भोगेका अनुभव सुनाएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, पत्रकारहरु शंकरप्रसाद खनाल, गोविन्द शर्मा, नवीन गिरी, अर्जुन ओली, केपी घिमिरे लोकनाथ शर्मा, वीरेन्द्र जैसी, सुमन गिरी श्रेष्ठलगायतले ‘शाही कु’कोे बेलामा प्रेस स्वतन्त्रताको लागि भारतको रुपैडियामा जुलुस निकालेको, सुरक्षाकर्मीबाट दुव्र्यवहार भोगेका, टेलिफोन सेवा अवरुद्ध भएका, सडकमा समाचार बाचन गरेका घटना स्मरण गरेका थिए । पत्रकारहरुले लोकतन्त्रमा नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने भएकाले पूर्वराजा ज्ञानेन्द्रको समाचार संकलन गर्न जाने भन्दै कार्यक्रम छोट्याएका थिए । कार्यक्रमपछि अधिकांश पत्रकार रामलीलास्थित अभिनन्दनको रिपोर्टिङमा गएका थिए । समारोहमा पत्रकारका लागि बस्ने व्यवस्था गरिएको थिएन । स्वयंसेवकहरुले उभेर फोटो र भिडियो खिचिरहेका पत्रकारलाई पटक पटक बस्न लगाएर सास्ती दिएका थिए ।