नरैनापुुरका मदरसा र स्कुलमा न शिक्षक, न त विद्यार्थी

नरैनापुर गाउँपालिकाकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्य मदरसाको अनुगमन गर्दै । फोटोहरु सौजन्य : विक्रम बुढा क्षेत्री

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ जयरामपूर्वाको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि हाजिर भएका छैनन् । चैत महिनामा त जयमती दुई दिन र रामजी एक दिन मात्रै हाजिर भएका छन् । मदरसामा नआए पनि दुबै जनाले गाउँपालिकाको राहतको तलब खाइरहेका छन् । मदरसाका प्रधानाध्यापक इब्राइम खान उनीहरुलाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको बताउँछन् । ‘उहाँहरुलाई हामीले धेरै पटक फोन गरेका छौं । गाउँपालिकामा पनि निवेदन दिएका छौं तर पनि उहाँहरु मदरसामा आउनु हुँदैन,’ खानले भने,‘ तर तलब भने उहाँहरुले पाइरहनु भएको छ ।’

वडा नम्बर ५ मा जमुनहामा रहेको मदरसा गौसुलवरा जामिया अहिले सुन्नतमा अनुगमन टोलीले शिक्षकको हाजिरी रजिष्टर दिन मानेनन् । कारण थियो, रजिष्ट्ररमा कुनै पनि शिक्षकले वैशाख महिनामा हाजिरी गरेका थिएनन् । मदरसामा कति विद्यार्थी पढ्छन् भन्ने शिक्षकले जवाफ दिन सकेनन् । मदरसामा प्रअ भेटिएनन् ।
वडा नम्बर ४, जमुनहाको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि प्रध्यानाध्यपक भेटिएनन् । कुनै कक्षा कोठामा पनि शिक्षकको उपस्थिति नभएको पाइयो । अचम्म त ३ जना शिक्षक र शिक्षिकाले त एकैपटक आएको र गएको हाजिरी गरेको भेटियो । केही कक्षामा विद्यार्थीको पनि हाजिरी नगरेको पाइयो । धेरैजसो शिक्षकले हप्ता दिनदेखि हाजिरी नै नगरेको पनि भेटिएको थियो ।
नगरैनापुर गाउँपालिकाकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले विद्यालयको छड्के अनुगमनका क्रममा विद्यालयमा यस्तो बेथिति भेटिएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष समेत रहेका मौर्यले अनुगमनका क्रममा सबै विद्यालय तथा मदरसामा केही न केही त्रुटी र समस्या देखिएको बताए । ‘पहिलो पटक हामीहरु यसरी छडके अनुमगनमा गएका हौं । त्यसैले सबै विद्यालय र मदरसालाई मौखिक चेतावनी दिएर आएका छौ,’ मौर्यले भने, ‘ अर्कोपटक फेरि अनुमगनमा जानेछौं । यस्तै समस्या देखियो भने कारबाही गर्नेछौं ।’

गत २८ चैत्रमा नरैनापुर गाउँपालिकाको शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई आसन्न शैक्षिक शत्रदेखि खारेज गर्ने बताएका थिए । नरैनापुरमा सामुदायिक विद्यालय भन्दा मदरसाको संख्या धेरै छ । गाउँपालिकामा ३० मदरसा र २१ सामुदायिक विद्यालय छन् ।