कोहलपुर नगरका २६३ समाचार लेख्ने पत्रकार डिल्ली शाहीलाई एक लाखको पुरस्कार

नेपालगन्ज : कोहलपुर नगरका बारेमा एक वर्षमा २६३ वटा समाचार लेखेर पत्रकार डिल्ली शाहीले एक लाख रुपैयाँको पुरस्कार जितेका छन् ।
कोहलपुर नगरपालिकाले १०औं स्थापना दिवसको अवसरमा सोमबार नगरका सत्य, तथ्य, निष्पक्ष तथा खोजमूलक र नागरिक सचेतना अभिबृद्धि गर्ने खालका समाचार लेखेको भन्दै बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर र नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर टुडेका प्रकाशक÷कार्यकारी सम्पादक शाहीलाई संयुक्त रुपमा नगद पुरस्कार र प्रमाण प्रदान गरेका हुन् ।
पुरस्कृत भएपछि मेरो खुसीसँगको मोबाइल सम्पर्कमा पत्रकार शाहीले नगरका सकारात्मक, आलोचनात्मक र गतिविधि लगायतका सबै प्रकारका समाचार लेखेको बताए । उनले भने, ‘यो पुरस्कारले पत्रकारिता क्षेत्रमा अझ बढी क्रियाशील हुन उर्जा मिलेको छ ।’
त्यसैगरी मिसन टुडेका संवाददाता शुभाकर विश्वकर्माले ५० हजार राशीको दोस्रो पुरस्कार हात पारे । मिसन टुडेमा कोहलपुर नगरका २०९ वटा समाचार प्रकाशित भएका थिए । कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार प्रिया स्मृति ढकालका अनुसार मिसन टुडेमा प्रकाशित भएकामध्ये शुभाकरको बाइलाइनमा ९० प्रतिशत समाचार रहेका थिए । मिसन टुडेले धेरै वटा आलोचनात्मक समाचार लेखेर नगरपालिकालाई सच्चाउने अवसर प्रदान गरेको थियो । त्यसैगरी साहारा टिभी खबरका हिमांसु शाहीले १८० वटा समाचार लेखेका थिए । उनले पनि २५ हजार रुपैयाँको तेस्रो पुरस्कार जिते । समयपाटीका सर्जन आरसीले १२३ वटा समाचार पेश गरेका थिए । गत साउनको कार्यपालिका बैठकले तीन जना पत्रकारलाई मात्र पुरस्कृृत गर्ने निर्णय गरेकाले सर्जनलाई भने सम्मान मात्र प्रदान गरिएको प्रेस सल्लाहकार ढकालले जानकारी दिए ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, नगरपालिकाको सामाजिक विकास समिति संयोजक ईश्वरी विक र प्रेस सल्लाहकार ढकाल सम्मिलित तीन सदस्यीय छनोट समितिले पुरस्कृत पत्रकार चयन गरेको थियो । साउन महिनामा नै नगरपालिकाले सूचना प्रकाशित गरेर पुरस्कृत गर्ने जानकारी गराएको थियो । केही दिन अघि मात्र पुनः सूचना प्रकाशित गरेर नगरपालिकाले पुरस्कारका लागि पत्रकारसँग समाचारसहित दरखास्त आव्हान गरेको थियो । चार जना पत्रकारले मात्र समाचारसहित दरखास्त दिएका थिए ।

दरखास्त दिएर पुरस्कार लिन हुने वा नहुने भन्ने बहसका बीच पुरस्कार वितरण गरिएको छ । सरकारी र गैरसरकारी संस्थाले आव्हान गरेर पुरस्कार वितरण गर्ने चलन छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा पत्रकारिता पुरस्कारका लागि हरेक वर्ष आव्हान गर्दै पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले सोमबार मात्र पुरस्कृत हुने चार जना पत्रकारको नाम सार्वजनिक गरेको छ ।