‘गुणस्तरीय शिक्षाका लागि अभिभावक नै महत्वपूर्ण’

गुलरिया : ‘सन्तानलाई गुणस्तरीय शिक्षा दिन राम्रो विद्यालय र राम्रो शिक्षकको मात्र भूमिका हुन्छ’ धेरै बाआमाको ठम्याइँ यही हुन्छ । सन्तानलाई राम्रो शिक्षादीक्षा दिन कतिले त धेरै वटा विद्यालय परिवर्तन पनि गरेका हुनसक्छौं ? बर्दियाको ठाकुरबाबा, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका अभिभावक भने सन्तानलाई गुणस्तरीय शिक्षा दिन विद्यालय र शिक्षकसँगै अभिभावकको सबैभन्दा धेरै भूमिका हुने बताउँछन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की ४१ वर्षिया मथुरा थापा अनुभव सुनाउँछिन्, ‘बालबालिकालाई घरायसी काम भन्दा पढ्नका लागि समय तथा अवसर दिनुपर्छ । बच्चाहरुमा पढ्ने बानीको विकास हुँदा र शिक्षामा प्रगति हुने रहेछ भन्ने हामीले बुझेका छौं ।’ उनले सन्तानलाई पढ्ने अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि जनाएकी छिन् ।
ठाकुरबाबा–६ की रामकुमारी थारू त हरेक दिन विद्यालयबाट घर फर्किएपछि सन्तानलाई सरासर पढाइकुना भएकै कोठामा गएर गृहकार्य गर्न लगाउने र घरमा पढ्नका लागि छुट्टै कोठामा सिकाइकुना ब्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छिन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप)ले बर्दियामा सञ्चालन गरेको बालविवाह न्यूनिकरण परियोजनाले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रमपछि थापा र थारु मात्र होइन, जिल्लाका धेरै अभिभावकका सन्तानलाई गुणस्तरीय शिक्षाको लागि आफ्नो भूमिका महत्वपूर्ण हुने कुरा ज्ञान भएको बताउँछन् । उनीहरुले यो कुरा व्यवहारमा पनि उतारिरहेका छन् ।
ठाकुरबाबा नगरपालिका–६ को जनता आधारभूत विद्यालयका प्रधानाध्यापक मदन चुनारा विद्यालयको पठनपाठनबारे आमाबुबाले जानकारी लिने, घरमा नियमित पढे, नपढेको विषयमा सोधीखोजी गर्नुपर्ने, नियमित गृहकार्य गर्न प्रोत्साहित गर्ने हो भने पढ्ने बानीको विकास भएर गुणस्तर शिक्षाका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएर जाने बताउँछन् ।
बालविवाह रोकथाम परियोजनाले किशोरकिशोरी तथा युवाहरुको नेतृत्व विकास गर्दै र बालविवाह न्यूनिकरणगर्दै बालविवाह मुक्त गर्ने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत बर्दियाका बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका अभिभावक शिक्षा सत्र सञ्चालन गरिएको छ ।
परियोजनाले अभिभावक सत्रमा अभिभावक सत्र बालविवाह बारे नियम, कानुन सम्बन्धी ज्ञानको अभिबृद्धि गरी बालबालिकाहरुका अधिकारबारे जनचेतना जगाउनका लागि परियोजना मार्फत उक्त सत्रमा अभिभावकहरुलाई बालमनोविज्ञानमा आधारित सिकाइ, बालबालिकालाई असल, जिम्मेवार, सफल बनाउन अभिभावकले निभाउनुपर्ने भूमिका, घरायसी वातावरण र सामाजिक वातावरणले बालबालिकालाई पार्ने असर र त्यसबाट बचाउन अभिभावकले निभाउनुपर्ने भूमिका, बालबालिकाको रुची, क्षमता पहिचान लगायतका बारेमा जानकारी गराइएको थियो । अभिभावकहरुलाई समय–समयमा विद्यालय गएर आफ्नो छोराछोरीको प्रगतिबारे शिक्षकहरूसँग परामर्श गर्न, उनीहरूको भावना बुझी आत्मविश्वास जगाउन, आफ्नो चाहनालाई जबरजस्ती छोराछोरीमाथि नलाद्न, छोराछोरीको कुरा ध्यानपूर्वक सुनिदिनु पर्ने भूमिकाका बारेमा अभिभावकको ध्यानाकर्षण गराइएको थियो ।
परियोजनाले जिल्लाको बारबर्दिया नगरपालिकामा–५, मधुवन नगरपालिकामा–५ ठाकुरबाबा नगरपालिकामा–५ तथा गेरुवा गाउँपालिका–५ का ६ कक्षादेखि ८ कक्षासम्म पढाइ हुने २० वटा विद्यालयमा २० वटा अभिभावक शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।