तालिमपछि स्वरोजगार हुँदै महिला

वनवीरपुर (बर्दिया) : बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुरकी पूजा थारु सिलाइ कटाइको काम गर्छिन् । सिलाइ कटाइबाटै उनको घरपरिवारको खर्चको जोहो हुन्छ । आफ्नो जीवनस्तरमा सुधार आएको बताउँछिन् । ‘पहिला त कसैले सहयोग माग्दा पनि पत्याउँदैनथे । अहिले कमाउन थालेपछि सबैले सम्मान गर्न थालेका छन्’, उनले विगतका दुःख दिन सम्झिन्, ‘घरमा बुवाआमाकोे कमाइ थिएन । साहुले ऋण पनि पत्याउँदैनथे । अहिले सम्मानपूर्वक सबैले पत्याएका छन् । सबैभन्दा ठूलो कुरा आर्थिक पक्ष रहेछ भन्ने महसुस भइरहेको छ ।’ विगतमा खेतीकिसानी गर्ने उनी सिलाइ कटाइको कामबाट आत्मनिर्भर हुने बाटोमा छिन् । सोही वडाकी सीता थारु पनि सिलाइ कटाइ पेशामै लागेकी छन् । ‘पहिला मेरो कुनै आम्दानी नै थिएन । घरखर्च चलाउन सधैँ बुबाआमासँग पैसा माग्नुपर्ने बाध्यता थियो,’ ठाकुरबाबा नगरपालिका– ५ की सीता भन्छिन्, ‘अहिले त घरखर्च र भाइबैनी पढाउन पुग्ने कमाइ म आफैँ गर्न थालेकी छु ।’
प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टिता समूह (बी–गु्रप)को साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वय तथा सहकार्यमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजनाले ६५ दिने सिलाइ कटाइ तालिम दिएपछि पूजा र सीताले कपडा सिलाउने पेशा गरेका हुन् ।

परियोजनाले बर्दियाका गेरुवा गाउँपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकाका ५० जना युवा महिलाहरुका लागि आयआर्जनमा सहयोग गरेको बालविवाह न्यूनिकरण परियोजना प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिए । सामान्य खर्चका लागि समेत परिवारका पुरुष सदस्यको कमाइमा भर पर्दै आएका घरपरिवार यतिबेला आफ्नो खर्चको जोहो आफैँले गर्न थालेका छन् । आर्थिक अभावका कारण उनीहरूले भोग्ने पीडामा कमी आउन थालेको शर्माको दाबी छ ।