बारबर्दियामा ३८ प्रतिशत गर्भवती २० वर्ष मुनीका

जयनगर (बर्दिया) : बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा ३८ प्रतिशत गर्भवती २० वर्ष मुनीका पाइएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बारबर्दिया नगरपालीकाको समन्वय तथा सहकार्यमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजनाले शुक्रबार आयोजना गरेको बारबर्दिया नगरपालिकामा पालिका स्तरको सरोकारवाला पक्षसँगको समन्वय बैठकमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले नगरमा ११५ जना महिला गर्भवती रहेकोमा २० वर्ष मुनिका ४३ जना रहेको जानकारी दिएका हुन् । जुन क्रूल गर्भवतीको ३७.३९ प्रतिशत हो । प्रमुख शर्मा गर्भवती बालिकाले प्रजनन स्वास्थ्यका साधनहरु प्रयोग गरिरहेको बताए ।
कानुनले २० वर्षको विवाहमा प्रतिबन्ध लगाएपछि बालबालिकाहरु भागेर विवाह गरिरहेको नगरपालिकाले जनाएको छ । बैठकमा सरोकारवालाहरुले अझै पनि भागेर विवाह गर्ने, प्रजनन स्वास्थ्य, आर्थिक तथा सामाजिक कारणले विद्यालय नजाने बालबालिका, बालविवाहपछि विद्यालय छोड्ने जस्ता जटिल समस्या बालविवाह न्यूनिकरणका लागि चुनौतीपूर्ण रहेको औल्याएका थिए ।

ती चुनौतीहरु अन्त्यका लागि नगरपालिकाको विषयगत शाखा प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए । निराकरणका लागि विद्यालय स्तरमा बालविवाहको बारेमा कार्यक्रम गर्ने, बालमैत्री तथा लैगिक मैत्री आचारसंहिता निर्माण गर्ने, विद्यालयको गुनासो सुनवाइको संयन्त्रलाई नियमित सञ्चालनमा राख्ने, बाल संरक्षण नीति विद्यालय स्तरमा यसको संरचना तयार गर्ने, बालमैत्री लैगिक मैत्री भौतिक पूर्वाधारहरुको लागि संरचना तयार गर्ने, बालविवाह हुन नदिन उद्यमशीलताका तालिम तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तहमा अभिभावक शिक्षा कार्यक्रम, विद्यालयको प्राथना समयमा बालविवाहको भएपछि हुने समस्या तथा कानुनी प्रावधानबारे जानकारी गराउने, बालविवाह बारेमा समुदाय तथा विद्यालय स्तरमा बालक्लब, किशोरी क्लब गठन तथा पुनः गठन गरि उनीहरुकै सहभागितामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको खण्डमा बालविवाह तथा बालबालिका शैक्षिक सुधार हुने सरोकारवालाहरुको सुझाव रहेको बालविवाह न्यूनिकरण परियोजना प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।
बैठकमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले आगामी सन् २०३० सम्ममा बालविवाह अन्त गर्ने योजना अनुसार पालिकाले कार्ययोजनामा विभिन्न सामाजिक संघसस्थासंग समन्वय र साझेदारी गरि अघि बढेको बताए । बैठकका बारबर्दियाका उप प्रमुख रत्नाकुमारी पाण्डे, प्रमुख प्रशासकिय अधिकृत अशोक कोइराला, सामाजिक विकास समितिका संयोजक, विषयगत शाखाका शाखा प्रमुख, बालक्लब सञ्जालका अध्यक्ष, वडघर सञ्जालका प्रतिनिधिको सहभागिता रहेको थियो ।