पत्रकार महासंघ बाँकेद्वारा नयाँ सदस्यता लिने र स्वेच्छिक परित्याग गर्न सात दिने सूचना जारी

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले नयाँ सदस्यता लिन र गैरपत्रकारलाई सदस्यता परित्याग गर्न सात दिने सूचना प्रकाशित गरेको छ ।
महासंघ बाँके शाखाको शुक्रबारको बैठकको निर्णय भन्दै सचिव कमल डाँगीद्वारा जारी सूचनामा योग्यता पुगेका ब्यक्तिले मापदण्ड अनुसार आगामी १२ जेठसम्म नयाँ सदस्यताको लागि आवेदन दिन र सदस्यता शुद्धिकरण मापदण्ड अनुसार स्वेच्छिक रुपमा महासंघको सदस्यता परित्याग गर्न आव्हान गरिएको छ । सूचनामा स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्नेलाई स–सम्मान विदाइ गर्ने र गैरपत्रकार भए मापदण्डको व्यवस्था अनुरुप सदस्यता नविकरण नगर्ने उल्लेख छ ।
तीन वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नभएको, राजनीतिक दलको कुनै समितिको पदाधिकारी रहेको, जनप्रतिनिधि, सरकारी सेवा तथा सेवा आयोगको स्थायी, अस्थायी र करार सेवाको कर्मचारी, मिडिया संस्थान बाहेक अन्य संस्थाका कर्मचारी, कहिले काँही मात्र पत्रकारिता गर्ने, गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी, मुख्य पेशा पत्रकारिता बाहेक अन्य रहेका, सञ्चार माध्यममा विशुद्ध व्यवस्थापन, बजार प्रतिनिधि र प्रशासनीक कर्मचारीका साथै ६ महिनाभन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिको सदस्यता नविकरण नहुने सूचनामा उल्लेख छ । बाँकेमा पछिल्लो रेकर्ड अनुसार ३३५ जना पत्रकार महासंघका सदस्य रहेका छन् । सदस्य रहेका सबै पत्रकारिता पेशामा पूर्णकालीन वा आंशिक रुपमा सक्रिय छैनन् ।