बाँके निकुञ्जमा किन घटे पर्यटक ?

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षभन्दा चालु आर्थिक वर्षमा पर्यटकको संख्या घटेको छ ।
निकुञ्जको राजस्व शाखामा कार्यरत खरिदार राजन आचार्यका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वैशाख मसान्तसम्म ३ विदेशी, २ सार्क देशकासहित २५० जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । जबकी आव ०७८/७९ मा २ विदेशी, ३ सार्क देशका गरी ३१० जना पर्यटकले बाँके निकुञ्जमा अवलोकन गरेका थिए । जुन गत वर्ष भन्दा ६० जना कम पर्यटक हो । यद्यपि जेठ र असार महिना बाँकी रहेकाले गत वर्षको हाराहारीमा पर्यटक पुग्ने वा सो भन्दा बढी हुने सम्भावना भने नर्कान सकिँदैन । अघिल्लो वर्ष भन्दा हात्ती सफारी भने बाँकेमा बढेको छ । गत आवमा १७३ जनाले हात्ती सफारी गरेकोमा यो आवमा १८४ जनाले सफारी गरिसकेका छन् । जीप सफारी पनि अघिल्लो वर्षभन्दा घटेको छ । अघिल्लो वर्ष ५ पटक जीप सफारी भएको थियो भने यो वर्ष एउटा मात्र जीप सफारी भएको छ । बाँके निकुञ्जमा २५ वटा पाटेबाघ छन् । निकुञ्जमा लोपोन्मुख वन्यजन्तु चौका पनि हेर्न पाइन्छ ।