पठन संस्कृति र लेखन सीप बढाउन लेखक र विद्यार्थीबीच अन्तरक्रिया

कोहलपुर : स्मार्ट फोनले बाध्यताले पढ्नु बाहेक विद्यार्थीको पुस्तक मोह हराउँदै गएको छ । बाँकेको कोहलपुर नगरपालिकाको जन ज्ञान ज्योति माध्यमिक विद्यालय कौशिलानगरले पुस्तकका लेखकलाई डाकेर विद्यार्थीसँग पठन संस्कृति र लेखन सीपबारे विद्यार्थीबीच गराएको छ । विद्यालयले निबन्ध कृति लकडाउनका लेखक सागर गैरेलाई आइतबार दुई दर्जन बढी विद्यार्थीले लेखक गैरेसँग विभिन्न जिज्ञासाहरू राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य महानन्द ढकाल लेखक विद्यार्थीबीच अन्तरक्रियाले विद्यार्थीहरूमा पठन संस्कृति र लेखन सीपको विकास गर्ने दाबी गर्छन् । उनले भने, ‘विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउन र स्थानीय परिवेशसँग परिचित गराउन विद्यार्थीहरूलाई पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तु बाहेक अन्य समसामयिक विषयवस्तुहरूमा ज्ञान दिन यस्ता कार्यक्रमहरूको आवश्यकता हुन्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल बास्तोलाले लेखक र विद्यार्थीबीच अन्तरक्रिया राख्नुको कारण विद्यार्थीहरूलाई स्थानीय लेखक तथा साहित्यकारहरूसँग परिचित गराउँदै उत्प्रेरित गराउनु रहेको बताउँदै विद्यार्थीहरूमा फरक खालको सोचाइको विकास होस् भन्ने रहेको प्रष्ट पारे ।

कार्यक्रममा लेखक सागर गैरेको व्याक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै लेखक शेखर दहितले लकडाउनको समयमा लेखिएको लकडाउन महत्त्वपूर्ण कृति रहेको र यो कृतिमा माटोको सुगन्ध रहेको बताएका थिए । सुक्ष्म विषयवस्तुमा गहन विचार दिन सक्ने लेखकका रूपमा गैरेलाई लकडाउनले परिचय दिएको बताउँदै समाज बुझ्न साहित्यिक कृति पढ्नु पर्ने उनले आग्रह गरे । कार्यक्रममा लेखक तथा साहित्यकारहरू पुष्कर रिजाल, नवीन अभिलासी, विक्रम शिशिर, प्रकाश मरासिनी, प्रतीक गैरे, उषा सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
नेपाली शिक्षक गायत्री हमालले स्वागत गरेको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक एकदेव पन्थीले लेखक साहित्यकारहरूलाई धन्यवाद दिदै विद्यार्थीहरू चौतर्फी विकास गर्न यस्तै खालका कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।