नेपालगन्ज आइसीपी सञ्चालनको खुसीयालीमा पञ्चेबाजा

नेपालगन्ज : नेपालगन्ज एकीकृत जाँच चौकी (आइसीपी) सञ्चालनको खुसीयालीमा पञ्चेबाजा बजाइएको छ ।
भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुप्रतिक्षित नेपालगन्ज आइसीपीको बिहीबार नयाँ दिल्लीबाट संयुक्त रुपमा स्वीच अन गरेर भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि नेपाली जडीबुटीको निर्यात र भारतीय पेट्रोलियम पदार्थ र एलपी ग्याँस बोकेको ट्याङ्कर तथा प्लाइवुड बोकेको ट्रक आयात गरिएको थियो ।

बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा. धवल शम्सेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरीलगायत र बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीएम) मोनिका रानी, प्रहरी प्रमुख एसपी प्रशान्त वर्मालगायतले नेपाल र भारतको झन्डा हल्लाएर आयात निर्यातलाई स्वागत गरेका थिए ।

आइसीपीमा भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवास गृहको निर्माण गरिएको छ । भारत सरकारको एक अर्ब ४७ करोड भारतीय रुपैयाँको लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा आइसीपी निर्माण भएको हो ।