शिक्षक सरुवामा क-कसले खान्छन् घुस ?

शिक्षक सरुवा गर्दा सरुवा भएर जाने र सरुवा दिने विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारी र शिक्षकका नेता घुस खान्छन
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख भगवानप्रसाद पौडेल शिक्षक सरुवामा हुने घुसबारे धारणा राख्दै

शंकरप्रसाद खनाल । नेपालगन्ज
बाल विकास केन्द्रमा कार्यरत नेपालगन्जकी एक शिक्षिकाले अन्तरविद्यालय सरुवा मिलाउँदा वडाध्यक्षदेखि पूरानो विद्यालयका प्रधानाध्यापकलाई तीन महिनाको तलब घुस खुवाउनु प¥यो । घुस दिएको कुरा त्यत्तिबेला मात्र खुल्यो, जतिबेला उनले सरुवा भएर आएको विद्यालयका प्रधानाध्यापकले घुस लिन मानेनन् ।
‘पूरानो विद्यालयको प्रधानाध्यापकलाई दुई महिनाको र वडाध्यक्षलाई एक महिनाको तलब दिएकी थिए । मलाई विद्यालयमा आउन अनुमति दिएकोमा मैले हजुरलाई के गर्नुपर्छ सर ?’, प्राथमिक तहका ती प्रधानाध्यापकले नाम नबताउने शर्तमा त्यो घटनाबारे बेलिविस्तार लाए, ‘यो कुरा सुनेर म चकित भए । बाल विकास केन्द्रमा न्युन तलबमा पढाउने शिक्षिकाबाट पनि पैसा खाने रहेछन् । मैले हजुरले राम्ररी पढाउनु होला । अरु केही दिनुपर्दैन भनें । उहाँ पढाइरहनु भएको छ ।’ बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय समयमा पढाउँदा बाल विकास केन्द्रका शिक्षकले १६ हजार रुपैयाँ मात्र तलब पाउँछन् । त्यसअघि त उनीहरुले सात हजार रुपैयाँ मात्र पाउँथे ।
बाल विकास केन्द्रका शिक्षकको सरुवामै घुसको जालो सकिँदैन । एउटै जिल्लाको अन्तरपालिकाको विद्यालयमा सरुवा भएर जाँदा पनि शिक्षकले घुस दिनुपर्ने ती प्रअले प्रष्ट पारे । क–कसले खान्छन् त घुस ? अन्नपूर्ण पोस्ट्को जिज्ञासामा उनले प्रष्ट पारे, ‘सरुवा भएर जाने र सरुवा दिने विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहका शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाइका जिम्मेवार व्यक्तिलाई नजराना चढाउनु पर्छ ।’ बाँकेमा अन्तर पालिका विद्यालयमा सरुवा भएका शिक्षकले एक लाख रुपैयाँसम्म घुस दिएको पीडित शिक्षकले आफूलाई बताएको उनले जानकारी दिए ।
सबैभन्दा धेरै घुस त अन्तर जिल्ला विद्यालय सरुवामा हुन्छ । जिल्लामा यसरी सरुवा भएर आएका शिक्षकले पाँच लाख रुपैयाँसम्म घुस खुवाएको शिक्षकहरुमाझ चर्चा छ । यस्तो सुरुवामा प्रअ, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहको शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाइसँगै घुस खानेमा थपिन्छन्, शिक्षक युनियनका जिल्ला तहको नेतृत्व वा पदाधिकारी । शिक्षकका नेताले कसरी घुस खान्छन्, सुन्दा अचम्म लाग्छ ? ‘सरुवाका लागि शिक्षा विकास तथा समन्वय इकाइ होस् वा स्थानीय तह वा विद्यालयमा शिक्षकका नेताको पावर लाग्छ । नेताको दवाब नभइ सरुवा भएर आउन सम्भव नै देखिँदैन । सरुवा भएर आउने शिक्षक र सम्बन्धित विद्यालय वा शिक्षा कार्यालयसँग नेताले पुलको काम गर्छन् । अन्नपूर्णले भेटेका ती प्रअले सबै नेताले घुस खाएको भने स्वीकारेनन् । सरुवामा नेताको दलीय पावर भने लाग्ने बताए । ‘सरुवा भएर आउने ब्यक्तिले जब चार पाँच लाख रुपैयाँ घुस खुवाएको हुन्छ । फलानो दाइले व्यवस्था गरिदिनु भयो । पैसा नखाए पनि हामीलाई नखाएको विष पनि लाग्छ’, उनले जिकिर गरे, ‘सरुवा भएर आउने व्यक्तिले शिक्षकका नेतालाई भोज भने खुवाउँछन् । भोज त खुसीले खुवाउने कुरा न भयो ।’ सबैभन्दा बढी घुस खानेमा विद्यालय व्यवस्थापन समिति, प्रअ र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख वा अधिकृतको नाम आउँछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले शुक्रबार नेपालगन्जमा बाँके र बर्दियाका पत्रकारबीच आयोजना गरेको भेटघाट कार्यक्रम आयोजना गरेको थियो । त्यो कार्यक्रममा अन्नपूर्णको जिज्ञासामा शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख भगवानप्रसाद पौडेलले शिक्षक सरुवामा घुस लिनेदिने गरेको हाकाहाकी रुपमा स्वीकारेका थिए । ‘शिक्षक सरुवामा आर्थिक चलखेल भएको छ । भइरहेको हुन्छ’, प्रमुख पौडेलले अगाडि भने, ‘अहिलेसम्म एउटा पनि उजुरी परेको छैन । मैले पनि तपाई (पत्रकार)हरुले जस्तै बजारमा सुनेको हुँ । कति विद्यालयले १०० वटा डेक्स बेञ्च बनाइदिन भन्छन् रे ? कक्षाकोठा बनाइदिन भन्छन् रे ।’ उनले प्रमाण नै फेला परे पनि आफूलाई कारबाही गर्ने अधिकार भने नभएको बताए । आठ महिनादेखि बाँकेमा जिम्मेवारी सम्हाले यता आफूले कागजात मिलेको सरुवालाई एक दिन पनि नरोकेको उनको दाबी थियो । ‘सरुवा लिएर आउने र सरुवा भएर जाने विद्यालय, सम्बन्धित पालिकाको सिफारिस सबै कागजात मिलेर आउँदा हामीले रोक्ने सवालै हुँदैन’, उनले प्रष्ट पारे ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरका निर्देशक सुरेशकुमार जोशीले कार्यालयका कामबारे पत्रकारलाई जानकारी गराउँदै शिक्षक सरुवामा हुने धेरै तहको प्रावधान सच्चाउनु पर्ने बताए । उनले भने, ‘शिक्षक सरुवामा शिक्षा विकास तथा समन्वय इकाइको भूमिका हटाउनु पर्ने विषयमा छलफल भइरहेको छ ।’ स्रोत : अन्नपूर्ण पोस्ट् दैनिक