सशस्त्र प्रहरी बलद्वारा ५ स्थानमा विपद् व्यवस्थापन वेश स्थापना

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ५ ठाउँमा विपद् व्यवस्थापन वेश स्थापना गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौका सह-प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार यस अघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा वेशलाई विपद् व्यवस्थापन वेशको रुपमा स्तरोन्नती गरिएको छ । यस्तै, म्याग्दीस्थित बेनीमा रहेको आश्रित गुल्म तथा डडेल्धुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन वेश स्थापना गरिएको हो ।

आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायव उपरीक्षक र वेनि, मुलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामानसहित विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको सह प्रवक्ता थापाले जानकारी दिए । उनले भने, दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा एक दुई दिनभित्रै वेश स्थापनाको तयारी गरिएको छ।
भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र सुर्खेतको चिप्लेमा यस अघि नै रहेको सुरक्षा वेशलाई स्तरोन्नती गरी विपद् व्यवस्थापन वेश स्थापना गर्ने तयारी गरिएको हो । स्थापना भइसकेका विपद् व्यवस्थापन वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ भने अन्य तीन ठाउँमा पठाउने प्रकृयामा रहेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ती ठाउँमा परिचालन गरेको हो । यसबाट तत्काल मनसुनजन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनिकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन सहज हुनेछ ।