राजापुरमा जंगली जनावरबाट बाली बचाउन उज्यालो सीमा सुरक्षा कार्यक्रम सञ्चालन गरिँदै

प्रकाश विश्वकर्मा । राजापुर
बर्दियाको राजापुर नगरपालिकाले नेपाल भारत सिमानामा जंगली जनावरबाट बालीनाली बचाउन उज्यालो सिमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाको शुक्रबारदेखि सुरु भएको ११औं नगर सभामा उप प्रमुख मनकलाकुमारी चौधरीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रममा यस्तो कार्यक्रम आएको हो । राजापुरमा पर्ने खाता जैविक मार्गको नेपाल भारत दुबै देशका निकुञ्ज र सामुदायिक वनबाट आउने जंगली जनावरले बालीनाली नष्ट गर्ने गरेका छन् । कृषि, शिक्षा, पर्यटन, उद्योग, भौतिक पूर्वाधार,समावेशी र समृद्ध राजापुरको मुल आधार भन्ने भन्ने नाराका साथ सुरु भएको नगरसभामा कृषिलाई व्यवस्थित गर्न दुधलाई बजारिकरण गर्ने, कृषि पशु बिमा लागू गर्ने, कृषि योग्य जमिनको खण्डिकरणलाई निरुत्साहित गर्ने, सहकारीलाई प्रोत्साहन गर्ने, कृषक पाठशालाको अवधारणा ल्याइने, अपांग र महिलाहरुका लागि आयआर्जलनमूलक कार्यक्रम प्रबर्द्धन गर्ने रहेको छ ।
राजापुर समृद्धिको आधार कृषि , पर्यटन विकास र पूर्वाधार कृषि गुरुयोजना निर्माण गर्ने योजना नीति तथा कार्यक्रम मा समावेश गरिएको छ । कृषि तथा पशुसेवा, सहकारी , राजस्व परिचालन एवम् अभिवृद्धि, पुर्वाधार विकास, सडक, सिँचाइ तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ, व्यवस्थित बसोवास, सामाजिक विकास सम्बन्धी विभिन्न कार्यक्रम गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । त्यस्तै महिला ससशक्तिकरण, स्वास्थ्य, शिक्षा , युवा तथा खेलकुद , संस्कृति तथा पर्यटन , वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, दिगो विकास र सेवा प्रवाह मा चुस्त दुरुस्त पार्न, जनमुखी सेवा दिन र रोजगार सिर्जना गर्ने समेत उल्लेख गरिएको छ । सामाजिक न्याय , विवाद समाधान, विकास साझेदारीहरुसँग सहकार्य गरि राजापुर नगरपालिका को समग्र क्षेत्रको विकास गर्नका लागि १९३ बुँदामा पेश गरिएको निति तथा कार्यक्रममा पर्यटन पर्वर्धन ,भौतिक पूर्वाधारको विकास गरि शिक्षा , स्वास्थ्यलाई प्राथमिकतामा राखि राजापुर नगरपालिकालाई सुशासनमा अग्रसर गराउने समेत उल्लेख गरिएको छ ।