लायन्सले नेपालगन्जमा मधुमेह र कोहलपुरमा भोकमरी न्यूनिकरणको क्षेत्रमा काम गर्दै

नेपालगन्ज : लायन्स क्लब इन्टरनेशनलले बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मधुमेह रोकथाम र कोहलपुर नगरपालिका क्षेत्रमा को क्षेत्रमा भोकमरी नियन्त्रणको क्षेत्रमा काम गर्ने तयारी गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनले गभर्नर प्रेसिडेन्ट मीट प्रोग्राम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरुबीचको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहले लायन्ससँग सहकार्य गरेर सेवाका काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य र उप–प्रमुख संगीता सुवेदीले सेवाका काममा सहकार्यका लागि लायन्ससँग आग्रह गरेका थिए । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनले कोहलपुरको राम माध्यमिक विद्यालय हवल्दारपुरमा क्यान्टिन निर्माण गर्ने तयारी गरेको छ । कोहलपुरमा ब्लड बैंक स्थापना गर्नका लागि पनि लायन्सले सहकार्य गर्ने तयारी गरेको छ । ब्लड बैंकको लागि कोहलपुर नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको राँझामा मधुमेह केन्द्र स्थापना गर्न उपमहानगरपालिकाले ६ कठ्ठा जग्गा उपलब्ध गराउने भएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौैडेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि लायन्ससँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।