महुवाको रक्सी ब्रान्डिङ गर्दै लुम्बिनी प्रदेश सरकार

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले थारु जातिमा लोकप्रिय रहेको महुवाको रक्सीलाई ब्रान्डिङ गर्ने तयारी गरेको छ ।
नेपाल प्रेस युनियन बाँके शाखाले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँके र बर्दियाको जंगलमा प्रसस्त पाइने महुवाबाट तयार गरिने रक्सीलाई ब्रान्डिङ गरेर विदेशमा निर्यात गर्ने तयारी रहेको बताए ।
उनले थारु कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न बाँके, बर्दिया, दाङलगायत जिल्लामा लाइभ संग्राहलय बनाइरहेको बताए । थारुका गीत तथा नृत्य अहिले पर्यटकीय नगरीका होटल होटल भइरहेकोमा अब हलमै टिकट काटेर प्रदर्शन गर्न प्रदेश सरकारले सघाउने पनि उनले प्रष्ट पारे ।
उनले बेरोजगारीको समस्या भएका कारण चेलीबेटी बेचविखनको समस्या रहेको भन्दै युवालाई रोजगारी दिन एक अर्ब बजेट विनियोजन गरिएको बताए । उनले त्यत्तिकै रकम संघीय सरकार र अन्य दातृ निकायबाट अपेक्षा गरेको बताए । युवाहरु लागूऔषधको कुलतमा लागेको भन्दै उनले नेपाल प्रहरीसँग सहकार्य गरेर लागूपदार्थको ओसारपसार नियन्त्रणको काम गरिने बताए ।